मंगल प्राथमिक विद्यालयमा प्रबिधिमैत्री पठनपाठन कक्षा सुरु

बझाङ । बझाङको मष्टा गाउँपालिका २ धनातोलीमा रहेको मंगल प्राथमिक विद्यालयमा विधुतिय (प्रबिधि) मैत्री शैक्षिक सामाग्रीहरुबाट पठनपाठन सुरु भएको छ । 

विधार्थीहरुको पढाइलाई गुणस्तरीय बनाउने अभिभावकहरुको प्रयास र गाउँपालिकाको सहयोगमा कक्षाकोठामा कम्यूटर जडान गरिएको हो । आधारभूत तह कक्षा १ देखि ३ सम्म पढाइ हुने यस बिधालयमा अबदेखि बिद्यार्थीहरुको पठनपाठन अडियो – भिडियो माध्यमबाट  पठनपाठन हुनेछ ।

आजभोलीको प्रबिधि र प्रतिस्पर्धाको समयमा पुरानै शैलीको पढाइबाट बिधार्थीहरु नयाँ ज्ञान सीप सिक्न नसक्ने भएकोले आधुनिक प्रबिधिको प्रयोगबाट मात्र यो नयाँ ज्ञान सीप सिकाई  सम्भव रहेको प्रधानाध्यापक मीनेश रोकाले बताए ।

मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले प्रबिधिमैत्री शैक्षिक सामाग्री र अंग्रेजी माध्यममा पठनपाठन गराउन सके विधार्र्थीको पढाइमा थप सुधार हुने बताए । साथै उनले सबै सरकारी बिधालयले ब्यबहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्न सके अभिभावकहरुको निजी विद्यालय प्रतिको आकर्षणलाई सरकारीमा तान्न सकिने बताए ।