‘सानैदेखि अव्यावहारिक थियो । हरेक कुरालाई ठट्यौली पारामा उखान टुक्का भर्न माहिर पनि थियो । उसमा कुराहरूलाई संवेदनशील ढंगले सोच्ने शैली नै थिएन ।’ प्रधानमन्त्री केपी ओलीका पिता मोहनप्रसाद ओलीले आफ्नो छोराबारे भनेको भनाइ हो यो । त्यही ठिटो अहिले देशको कार्यकारी निकायको प्रमुख भएको छ । नेपाल र नेपालीको भविष्य निर्माण कार्यमा जुटेका प्रधानमन्त्री ओली आफ्नै दलभित्र एउटा प्रतिपक्षीको भूमिकामा देखापर्थे । जहिले पनि अरूलाई उडाउने र होच्याउने उनको एक प्रकारको शैली नै भइसकेको थियो ।
पार्टीलाई जहिले पनि दबाबमा राखेर मौकाको फाइदा लिन माहिर मानिएका ओलीले सधैं पार्टी नेतृत्वलाई दोष मात्र दिने काम गरेको पाइन्थ्यो । फ्रन्ट साइडको राजनीतिभन्दा पनि ब्याक साइडबाट मजा लिने उनको स्वभाव थियो । आफूले पार्टीमा के भूमिका निर्वाह गरेको छु भन्नेभन्दा पनि अरूले के गर्दै छन् र उनीहरूको कार्यनीतिलाई कसरी विफल पार्ने भन्ने धुनमा लागिरहने बानी उनमा थियो भन्छन्, उनी निकट नेकपा नेता ।
परिस्थितिलाई मध्यनजर गरी त्यसलाई समयअनुसार खेलाउन माहिर मानिएका राजनीतिका चतुर खेलाडी प्रधानमन्त्री ओलीले आठौं महाधिवेशनमा त्यसबेलाका महासचिव माधवकुमार नेपाललाई साथ लिएर पार्टीमा राम्रै चलखेल गरेका थिए । उनको सोही चलखेलका कारण संस्थापन पक्षका नेता झलनाथ खनालको टाउको दुखाइ बनेका थिए एकताका ओली । ओलीको चातुर्य यतिसम्म थियो उनको पार्टीका केही वरिष्ठ नेताहरूलाई आप्mनो गोटी बनाएका थिए भने उनी सोही गोटीहरूलाई प्रयोग गरेर आप्mनो पल्ला भारी गर्न लागिरहन्थे ।
उनले पार्टीलाई आप्mनो पञ्जामा ल्याउन विभिन्न चालहरू नखेलेका होइनन् । यसका लागि उनले बामदेव गौतमदेखि ईश्वर पोखरेलसम्म साथमा लिए । यिनै खेलाडीहरूका कारण प्रधानमन्त्री ओलीले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट पार्टीको सत्ता आफ्नो हातमा लिन सफल भए । पार्टी सत्ता हातमा लिने बित्तिकै ओलीको पार्टी राजनीतिले राम्ररी मलजल गर्ने मौका पायो भने उनी पार्टीको लहरो समाउँदै पार्टी अध्यक्षदेखि प्रधानमन्त्रीसम्म बन्न पुगे ।
सधैं अल्पमतको खेलमा रुमलिएका ओलीलाई एकचोटि जसरी भए पनि बहुमत प्राप्त पार्टीको प्रधानमन्त्री बनेर देशको राज्यसत्ता आफ्नो हातमा लिए । सोहीअनुरूप उनले गोटी चाल्न थाले । उनले चालेको पासोमा तत्कालीन एकीकृत माओवादी सहजै प¥यो । त्यही माओवादीको समर्थनमा त्यसबेलाका प्रधानमन्त्री सुशील कोइरालालाई हटाएर उनी प्रधानमन्त्री बन्न सफल भए । पन्छी आफ्नो पासोमा नआउन्जेल राम्रै चारा हाल्ने, पन्छी फन्दामा परेपछि त्यसको कटाक्ष गर्ने नीतिका कारण ओलीसँग उनको समर्थनमा उभिएको माओवादी नेतृत्व भित्रभित्र चिढिइसकेको थियो ।
वचनको अपरिपक्कताले गर्दा ओलीलाई माओवादीले दिएको समर्थन फिर्ता लिने तहमा पुग्यो र अन्तमा फिर्ता लियो पनि । र, प्रमुख प्रतिपक्षीको भूमिका रहेको नेपाली कांग्रेसको साथ लिएर फेरि नयाँ सरकार बनाउने चाँजोपाँजोमा लाग्यो । यही मौकाको फाइदा उठाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने सपना देखिसकेका थिए ।
फलतः उनको सपना साकार भयो । सरकारमा गठबन्धनको फाइदा उठाउँदै माओवादीले स्थानीय निर्वाचनमा आफ्नो सिट सुरक्षित गर्न कांग्रेससँग गठबन्धनको बाटो रोज्यो । जुन गठबन्धन माओवादीहरूका लागि फापसिद्ध भए पनि माओवादी तेस्रो स्थानमा खुम्चिन पुग्यो भने कांग्रेसको अफापको बाबजुद दोस्रो स्थानमा आफूलाई खुम्च्याउन बाध्य भयो ।
माओवादीहरूले आफ्नो हैसियत गुम्ने अवस्था आएको भान पहिले नै पाएका थिए । जसले माओवादी अध्यक्ष प्रचण्डको माथा गरम भइसकेको थियो । उनी सेफल्यान्डिङ खोज्न थाले । ढुंगा खोज्दा देउता मिले झैँ पहिलो धारमा रहेको एमालेसँग एकीकरणको बाटो रोज्न माओवादी तयार भयो । एमालेसँग चुनावी एकता गरेर गएको माओवादीले एकीकरणको स्वाद राम्ररी चाख्यो । जसरी भए पनि नेपाली काग्रेसलाई भित्तामा पु¥याउने नीति लिएका कम्युनिस्टहरूको मुख्य सूत्राधार भनेका ओली नै थिए । उनकै रणनीतिअनुसार यी सारा खेल भएका थिए ।
जसरी भए पनि सत्ताको बागडोर आफ्नो पोल्टामा पार्ने दाउपेचमा लागेका ओलीले अहिले पार्टी र सत्ता दुवै प्राप्त गरेका छन् । उनको छवि बाहिरीरूपमा राष्ट्रप्रेमी र लोकतान्त्रिक भए पनि उनी भित्रीरूपमा तानाशाही कम्युनिस्ट नेतामा दरिन थालेका छन् । ओलीलाई उनका पिता मोहनप्रसादले राम्ररी बुभ्mन सकेका रहेनछन् भने सोझा नेपालीहरूले कसरी बुझ्लान् ।
पहिलो कुरा न्यायालयको गरौँ । न्यायालय अन्यायमा परेकाहरूलाई न्याय दिने न्यायमूलक संस्था हो । यसरी अन्यायमा परेकाहरूलाई न्याय दिने संस्था नै अहिले भ्रष्टाचार र घुसखोरीहरूको प्रगाढ संस्था बनेको छ । घुसको रकमले अहिले न्यायालयका न्यायकर्मीहरूलाई आफ्नो पञ्जामा फसाउन थालेको छ । सुन काण्डले अहिले न्यायालायका न्यायमूर्तिहरूलाई धमाधम कठघरामा उभ्याउन थालेको छ । जसले गर्दा बदनामी न्यायमूर्तिहरूको होइन समग्र न्यायालयको भयो ।
दोस्रो कुरा गरौँ अख्तियारको । घुस लिनेहरूको हावा फुस्काउने संस्था । अहिले आफ्नो हावा कस्ने दाउमा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले विभिन्न व्यक्ति र संस्थाहरूलाई विभिन्न बहानामा भ्रष्टाचारी प्रमाणित गर्दै जेल हाल्ने धमास दिएर पैसा असुल्ने कार्यमा संलग्न भएको आरोप लाग्न थालेको छ । आयुक्त पाठकले अख्तियारको दायराभन्दा माथि गएर दलाली कार्यालय खोली रकम असुल्ने कार्य गरेको कुरा बाहिर आएका छन् ।
तेस्रो कुरा, नेपालमा हरेक पटक सरकार परिवर्तनपिच्छे मच्चिने काण्ड हो विमान काण्ड । जो कोही पनि विमानमन्त्री हुनेबित्तिकै उसको ध्यान नयाँ विमान कसरी खरिद गर्ने भन्नेतर्फ जान्छ भने त्यसबाट आउने कमिसन कसरी पचाउने भन्ने कुरामा तिनको ध्यान केन्द्रित हुन्छ ।
यसै मेसोमा प्रधानमन्त्री ओली सरकार पनि पछि परेन । केही दिन पहिले निकै तातिएको वाइडबडी खरिद प्रकरण पहिल्लो समय बिस्तारै सेलाउन थालेको छ । सरकारद्वारा गठित विभिन्न छानबिन समितिहरू बिलिन भएका छन् । छानबिन मत्थर पारिएको छ । आफ्नै सरकारको कुरा उठेकोले प्रधानमन्त्री ओली चुपचाप छन् । प्रतिपक्षको दरो भूमिकामा आउनुपर्ने नेपाली कांग्रेस पनि सकेसम्म यो प्रकरण नउठे हुन्थ्यो भन्ने मनसायमा देखिन्छ । यी हुन् भ्रष्टाचारका मूल काण्ड । नेपालमा भ्रष्टाचारको मूल फुट्न थालेको छ । नोट छपाइमा गरिएको कमिसन काण्डमा नेपालका गभर्नरदेखि बैंकरहरूसम्म परेका थिए । नेपाल आयल निगमका गोपाल खड्का, ३३ किलो सुन काण्डमा सरकारी अधिकारीहरू नै मुछिएका छन् । यसरी प्रतिदिन मौलाउँदै गएको भ्रष्टाचार र घुसखोरीले प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को चाहना पूरा गर्न सहयोग पु¥याउला त ? यो गहन प्रश्न भएको छ ।



















