रूपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा २४ हप्ता अर्थात् करिब ६ महिनामा जन्मेका शिशु चिकित्सकको करिब साढे तीन महिनापछि स्वस्थ भएर घर गएका छन् ।
कपिलवस्तु वाणगंगाकी विमला पन्थीको पहिलो सन्तानका रूपमा जन्मेका शिशुको तौल जन्मेको समयमा ७७५ ग्राम तौल रहेको र १०४ दिनमा करिब २ केजी तौल पुगेर घर गएको अस्पतालले जनाएको छ । समान्यतया मानिसको शिशुको जन्म गर्भ रहेको ३९ हप्तामा हुन्छ ।
आमाको नियमित गर्भजाँच गराई रहँदा अचानक पाठेघरमा पानीको मात्रा कम भएको र २४ हप्तामा सुत्केरी बेथा लागेर शिशुको जन्म भएको थियो । यसरी ६ महिना पनि नपुग्दै जन्मेका शिशुलाई एनआइसीयु राखेर गरिएको अस्पतालका वरिष्ठ बाल विशेषज्ञ डा. नेत्रबहादुर रानाले बताए ।
डा. रानाका अनुसार ६ महिना पनि नभई जन्मेको शिशुलाई बचाउनु दुर्लभ सफलता हो । शिशुका बाबु केशव पन्थीले डा. रानालगायका चिकित्सक तथा एनआइसीयु टिमलाई धन्यवाद दिँदै खुशी प्रकट गरे । एनआइसीयु इन्र्चाज ज्योति पौडेलका अनुसार अस्पतालमा आठवटा एनआइसीयु बेड छन् ।
उनले त्यति कम अवधिमा जन्मेको थोरै तौलको शिशु बचाएर घर पठाउन पाउँदा अस्पताल परिवार हर्षित भएको बताइन् । यस्तो उपचार गर्न दैनिक कम्तीमा १८ हजार रुपैयाँ लाग्ने भए पनि शिशुको उपचारमा सरकारले दिने सुविधाअनुसार निःशुल्क भएको अस्पतालले जनाएको छ । उक्त अस्पतालमा एनआइसीयु सुरु भएको ३ वर्षमा ८ सयभन्दा बढी शिशुको उपचार भएको जनाइएको छ ।




















