काठमाडौं । संसदीय मर्यादा विपरीतका शब्द संसदको अभिलेखबाट हटाउन सभामुख कृष्णबहादुर महराले निर्देशन दिएका छन् ।
उनले गत वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएका संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।
आजको बैठकको शुरुमै सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको विषय उठाउँदै अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरु दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन दिर्नेशन दिएको बताएका थिए ।
सभामुखले निर्देशन दिए लगत्तै नेकपाका सांसद खगराज अधिकारी उठेर नियमात्ति जनाउँदै त्यस बैठकमा गैर संसदीय शब्दहरु धेरै प्रयोग भएको भन्दै सबै हटाइनुपर्ने माग गरे ।
सभामुख महराले आफूले ती सबै शब्द हटाउन निर्देशन दिएको बताएपछि बैठक सुचारु भयो ।



















