नेपाली पर्यटन क्षेत्रको प्रगति

सन् २०१९ को पहिलो दुई महिना अर्थात् जनवरी र फेब्रुअरीमै दुई लाखभन्दा बढी विदेशी पर्यटकहरूले नेपालको भ्रमण गरेका छन् । अध्यागमन विभागले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०१९ को फेब्रुअरी महिनामा मात्रै एक लाख २४ हजार चार सय २१ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । यो गतवर्षको सोही महिनाको भन्दा ३९ प्रतिशतले बढी हो । 

उता भारतीय पर्यटक मात्रै गतवर्षको फेब्रुअरी महिनामा भन्दा यो महिना ९२ दशमलव ५ प्रतिशतले बढी आएका छन् । तर, एक्लाएक्लै विदेशी पर्यटकहरूले गरेको नेपालको भ्रमण संख्या हेर्ने हो भने यो फेब्रुअरीमा चिनियाँ पर्यटक १६ हजार २०५, श्रीलंकाका पर्यटक १४ हजार ८३१, भारतीय पर्यटक १४ हजार ५७१, थाई पर्यटक १४ हजार २२२ र अमेरिकन पर्यटक सात हजार १३३ जना रहेका देखिन्छन् । यसरी सन् २०१९ को फेब्रुअरी महिनामा माथिका पाँच देशका पर्यटकहरू नेपाल घुम्न आउने ‘टप फाइभ’ मा परेका छन् । 

जनवरी महिनामा झन्डै १ लाख अर्थात् ९१ हजार ७९३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । स्मरण रहोस्, यो भनेको सन् २०१८ को सोही महिनाको तुलनामा २५ दशमलव ४ प्रतिशतले बढी हो र सन् २०१९ को पहिलो महिनामा पनि नेपालमा धेरै संख्यामा आउने पर्यटक क्रमशः भारत र चीनकै रहेका छन् । यी छिमेकी देश भारत र चीनबाट क्रमशः १४ हजार ६५० जना र १३ हजार ६८८ जनाले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, तेस्रोमा थाइल्यान्ड, चौथोमा बेलायत, पाँचौंमा जर्मनी र छैठौंमा फ्रान्स रहेका छन् । यो तथ्यांकले सकारात्मक सन्देश दिएको छ । अझ नेपाल सरकार, नेपाली पर्यटन उद्योग व्यवसायमा लागेका व्यक्तिहरू र पर्यटन मजदुरहरूका लागि त यो खबरले अरू बढी उत्साह र ऊर्जा थपेको छ । 

हुन त केही महिनाअघि नेपाल सरकार, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको स्रोत उल्लेख गर्दै नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांकअनुसार सन् २०१८ मा लगभग १२ लाख विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । सो संख्या पनि गत वर्षभन्दा लगभग २५ (२४.०८) प्रतिशतले नै बढी रहेको थियो । 

स्मरण रहोस्, नेपालमा औपचारिकरूपमा पर्यटन व्यवसाय सुरु भएको लगभग ६५ वर्षको इतिहासमा सन् २०१७ मा बल्ल नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या लगभग १० लाख पुगेको थियो । भने सन् २०१८ मा ११ लाख नाघेको छ । यसरी हेर्दा नेपाली पर्यटनको लामो इतिहासमा सन् २०१८ को विदेशी पर्यटक आगमनको संख्याले रेकर्ड कायम गर्न सकेको मान्न सकिन्छ । 

हुन त त्यसरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये छिमेकी देश भारत र चीनका पर्यटकको संख्याले पहिलो र दोस्रो स्थान ओगटेको छ । यो प्रसंग उक्काउनुको मतलब हालसम्म यी दुई छिमेकी देशका खर्चिला पर्यटकहरू नेपालको भ्रमणमा खासै ठूलो संख्यामा आएका छैनन् वा उनीहरूलाई हामीले नेपाल भ्रमण गराउनेतर्पm आकर्षित गर्न सकेका छैनौँ ।

नेपाल सरकारको तर्पmबाटै पहल गरेर उत्तरी सीमा क्षेत्रका विभिन्न नाकाहरू खासगरी कोदारी राजमार्गको तातोपानी नाका, ओलाङचुङगोला, किमाथान्का, ल्होमन्थाङ, लिमी आदि नाकाहरू छिटो खोलेर सडक यातायातलाई सुचारु गर्ने हो भने भारतीय र चिनियाँ पर्यटकको नेपाल आगमन संख्या बराबरी हुने देखिन्छ । अझ चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण गर्न आउने मुख्य भूमिका चिनियाँ पर्यटकहरूलाई पनि तिब्बत हुँदै नेपालको पनि भ्रमण गराउने प्याकेज ल्याउने हो भने अथवा यस्तो प्याकेज बनाएर बेच्ने हो भने हालको भन्दा १५–२० प्रतिशत बढी चिनियाँ पर्यटकलाई नेपालको भ्रमण गराउन सकिन्छ । तर, त्यसका लागि माथि उल्लेखित उत्तरी सीमा क्षेत्रका नाकाहरू भने चाँडोभन्दा चाँडो चालु गर्नु आवश्यक छ ।

नेपाली पर्यटनको मात्रै नभएर अधिकांश देशको समग्र पर्यटनको पहिलो र नभई नहुने पूर्वाधार विकासै हो । त्यसमा पनि हाम्रो जस्तो भूगोल भएको देशमा हवाई यातायात र सडक यातायात नै यातायातको प्रमुख साधन हुन् । हामीसँग सन् २०२० मा २० लाख विदेशी पर्यटकलाई नेपालको भ्रमण गराउने लक्ष्यसहित नेपाल भ्रमण वर्षको कार्यक्रमको योजना पनि छँदैछ । यसका लागि हामीलाई सबैभन्दा टड्कारो आवश्यकता हवाई यातायातको छ । त्यसमा पनि अन्तर्राष्ट्रिय हवाई यातायात प्रमुख आवश्यकताको रूपमा रहेको छ । 

नेपालमा चालु रहेका सबै हवाई यातायात कम्पनीहरूमाथि युरोप महादेशका विभिन्न देशहरूको साझा संगठन युरोपियन युनियनअन्तर्गत रहेको युरोपियन उड्डयन आयोगले सन् २०१३ देखि नेपाली वायु सेवा कम्पनीहरूलाई युरोपियन युनियन सम्बद्ध देशहरूमा उडान गर्न प्रतिबन्ध लगाएको अवस्था छ ।

उता जुलाई ४–११, २०१७ मा क्यानडाको मन्ट्रियल सहरमा मुख्यालय रहेको ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)’ को प्राविधिक टोली नेपाल आएर विस्तृतरूपमा अध्ययन गरी अबदेखि नेपाललाई ‘गम्भीर सुरक्षा चासो (एसएससी)’ बाट हटाउँदा हुन्छ भनी आप्mनो मुख्यालयलाई प्रतिवेदन बुझाएको थियो । सोअनुसार ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)’ को नेपालमाथिको हवाई प्रतिबन्ध हटाइसकेको पनि हो । 

फलतः गत सेप्टेम्बर महिनामा आउने भनिएको युरोपियन आयोगअन्तर्गत रहेको एयर सेप्mटी कमिटिको प्राविधिक टोली नेपाली आकाशबारे अध्ययन गर्न आएन । बरु पुनः सन् २०१९ मा पनि युरोपियन युनियनले नेपाली आकाशमाथि लगाएको प्रतिबन्ध जारी नै रहेको भनेर नेपाललाई सूचित ग¥यो । आपूmलाई युरोपियन देश ठान्ने टर्कीको टर्किस एयरले भने अपवादको रूपमा नेपालमा सिधा हवाई उडान गर्दैआएको छ । यसरी युरोपको एउटा देशसँग भए पनि नेपालको हवाई यातायात चालु रहेको छ भन्न पाइएको छ ।

नेपालमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ को पनि कालोपत्रे र स्तरोन्नति हुँदैछ भने सन् २०१९ को जुलाइसम्ममा चालु गर्न सकिने गरी भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि बनिसक्ने गरी काम हुँदै छ ।

त्यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सकेसम्म आगामी जुलाईदेखि अगस्टसम्ममा सक्ने गरी काम गराइँदै छ । त्यसो त पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सानो खाले अन्तर्राष्ट्रिय उडानमा रहेका विमानहरूको तुलना गर्दा एकसय ८० सिट क्षमता भएका विमानहरूलाई मात्रै थेग्न सक्ने क्षमताको बन्दै छ । 

तापनि, भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि नेपाली पर्यटन उद्योगमा साँच्चै कायापलट हुने आशा गर्न सकिन्छ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढाउने कुराको साथसाथै गुणस्तरीय पर्यटनतर्फ पनि विचार पु¥याउनुपर्ने आवश्यकता छ ।