काठमाडौं । अहिले नेपाली सिनेमा क्षेत्रमा ‘ए मेरो हजुर ३’को जति चर्चा छ, त्यति नै चर्चा र दर्शकको माया पाइन्, नवअभिनेत्री सुहाना थापाले । सुहाना अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापाकी एक्ली छोरी हुन् । वैशाख २५ गते सुहानाको जन्मदिन परेको छ । बुधबारदेखि उनी २१ वर्ष पूरा भएर २२ मा प्रवेश गरेकी छन् ।
पहिलो फिल्मबाट वाही–वाही बटुलेकी सुहानालाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामनाको ओइरो लागिरहेको छ । सुहानालाई आमा झरना थापाको पथ पछ्याउने नायिकाको रूपमा हेरिएको छ ।
अभिनयमा अब्बल सुहाना शालिन बोलीचाली सबैलाई राम्रो प्रभाव पारेकी छन् । अमेरिकामा पढ्दै गरेकी सुहाना पढाइसँगै अभिनयलाई पनि अगाडि बढाउने योजनामा छिन् । सुहानाको दोस्रो फिल्म पनि सम्भवतः होम प्रोडक्सनकै हुनेछ ।
निर्देशक झरना थापाले होम प्रोडक्सनबाट ‘भागवत् गीता’ बनाउने सोच सार्वजनिक गरेकी थिइन् । यद्यपि उनले ‘ए मेरो हजुर ४’ पनि बन्न सक्ने उनले संकेत दिएकी छन् । अनमोल केसी र सुहानाको मुख्य भूमिका रहेको फिल्म ए मेरो हजुर ३ हाल प्रदर्शनरत छ । सुहानाको जन्मदिनसँगै ‘ए मेरो हजुर ३’को सक्ससे पाटी पनि बुधबार साँझ भएको छ ।




















