बर्डफ्लुले एक युवकको मृत्यु : नेपालमा पहिलो घटना

काठमाडौं । चराबाट सर्ने रोग ‘बर्डफ्लु’ ले नेपालमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । नेपालमा बर्डफ्लुबाट पहिलो पटक मानिसको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार गत चैत १० गते २१ वर्षीय एक युवक ज्वरो र खोकीको लक्षणसहित बिरामी परेर अस्पताल भर्ना भएका थिए । इन्फ्लुएन्जाको शंका गरेर चैत ११ गते नै उनको घाँटीको ¥याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाएइको थियो । परीक्षणको नतिजा आउनुअगावै उनलाई इन्फ्लुएन्जा विरुद्धको औषधि दिइए पनि स्वासप्रश्वासको समस्याले चैत १५ गते उनको मृत्यु भयो ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा भाइरसको प्रकार किटान गर्न सम्भव नभएपछि उक्त नमूना जापान पठाइएको थियो । जापनाबाट यही वैशाख १७ गते आएको नतिजाले ती युवकको मृत्यु इन्फ्लुएन्जा ए अर्थात ‘एच फाइब एन वन’ भाइरसको संक्रमणबाट भएको पुष्टि भएको हो । उक्त भाइरसले बर्डफ्लु संक्रमण गराउँछ । 

मृतक युवकको नाम मन्त्रालयले गोप्य राखेको छ । 

यसपछि उक्त भाइरस संक्रमणबारे नियमित निगरानी र परीक्षण भइरहेकोमा संक्रमण देखिएको छैन । बर्डफ्लु भाइरस चराबाट मानिसमा सर्ने भए पनि मानिसबाट मानिसमा सर्ने नसर्ने यकिन हुन सकेको छैन । 

सन् २००३ देखि हालसम्म विश्वमा ८६० जनामा बर्डफ्लु भाइरस संक्रमण भएकोमा ४५४ जनाको मृत्यु भएको तथ्यांक पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बर्डफ्लु भाइरस सन् १९९६ मा पत्ता लागेको थियो । बर्डफ्लु चरामा लाग्ने रुघा जस्तो रोग हो ।  

पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले बर्डफ्लु भाइरसबाट युवकको मृत्यु भएको घटना अप्रत्याशित रहेको बताइन् । उनले घटनाले आफूहरू स्तब्ध भएको पनि बताइन् । ‘यो अत्यन्तै संवेदनशील घटना हो, सेन्सेसनल न्यूज होइन, विश्वकै चासो रहेको घटना हो,’ डा. चौधरीले भनिन् ‘बर्डफ्लुबाट कसरी बच्ने भन्ने चेतना फैलाउनु पर्छ ।’

आत्तिन् पर्ने अवस्था भने नरहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । रोगबाट बच्ने उपायबारे सचेत रहन मन्त्रालयले आग्रह गरेको छ । 

घटना चैत १५ गते भएको भए पनि परीक्षण र अनुसन्धान गर्न समय लागेका सचिव डा. चौधरीले बताइन् । सञ्चाकर्मीहरूले मृत्यु भएको एक महिनापछिमात्र थाहा हुनु हेल्चेक्र्याइँ होइन र भन्ने प्रश्न उठाएका थिए । उनीहरूले यस्तो ढिलाइले अरूको पनि ज्यान जान सक्ने शंका प्रकट गरेका थिए । 

अस्पताल भर्ना भएको छैटौँ दिन ती युवकको मृत्यु भएको थियो । बर्डफ्लु भएको हो कि होइन भन्ने यकिन नहुँदै युवकको मृत्यु भएको मन्त्रालयको भनाइ छ । 

पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले भाइरस र त्यसको जेनेटिक थाहा पाउन जापानको रिपोर्ट कुर्नुको विकल्प नभएको बताए । ‘कन्फर्म’ हुनका लागि जापानको रिपोर्ट पर्खिन बाध्य भएकाले जानकारी गराउन एक महिना ढिलो भएको उनको भनाइ थियो । जापानी प्रयोशाला राष्ट्रसंघले तोकेको मापदण्ड अनुसारको हो । 

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. विवेककुमार लालले मृत्यु भएका युवकको परिवारका सदस्यलाई परीक्षण गर्दा कसैमा पनि बर्डफ्लुको लक्षण नभेटिएको बताए । उनले ती युवकका निटकका साथीको परीणमा पनि बर्डफ्लुका लक्षण नदेखिएको बताए । 

पछिल्लो एक महिनामा विभिन्न अस्पतालबाट शंका गरिएका २ हजार २५० जनाभन्दा बढी घाँटीको ¥याल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणमा गरिएको जनाइएको छ । अहिले पनि अस्पतालहरूलाई बर्डफ्लुको शंका गरिएका बिरामीको नमुना परीक्षण गर्न ल्याबमा पठाउन अनुरोध गरेको सचिव डा. चौधरीले बताइन् । 

चिकित्सकका अनुसार ‘एच फाइब एन वन’ अत्यधिक संक्रमण हुने ‘इन्फ्लुइन्जा’ भाइरस हो । यसले चरामा श्वासप्रश्वासको समस्या गराउँछ । चरामा संक्रमण गर्ने भाइरसले मानिसलाई संक्रमित गरेमा यसले गम्भीर समस्या हुने र अंगप्रत्यंगले काम गर्न नसक्ने बनाउँछ । मानिसमा यसको संक्रमण भएमा मृत्युको सम्भावना बढी हुन्छ । 

यस रोगमा मानिसमा उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, मांसपेसीहरू दुख्ने, सुरुमा पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्नेलगायत लक्षण देखिन्छन् । 

रोकथामका उपायहरू

– नियमित रूपमा साबुन पानीले हात राम्रोसँग धुने ।

– व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

– आफ्नो वरिपरिको वातावरण सफा राख्ने ।

– बिरामी र मरेका कुखुरा र चराबाट टाढा रहने ।

– प्रत्यक्ष सम्पर्क भएका बिरामी व्यक्ति र चरा नजिक देखिए वा आफूलाई बिसञ्चो महसुस भएमा छिटो नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।

– बालबालिकालाई मृत वा बिरामी चराबाट टाढा राख्ने ।

– कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने मानिसले नांगो हात, खाली नाकमुख गरी मासु चलाउन हुँदैन । कम्तीमा पनि हातमा पञ्जा, मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएरमात्र मासुको काम गर्दा जोखिम कम हुन्छ । मासु काटेपछि हात राम्रोसँग साबुन पानीले सफ गर्ने तथा मासु तयार गर्दा प्रयोग गरिएका भाँडाकुँडा, औजार, अचानो राम्रोसँग सफा गरी निर्मलीकरण गर्ने 

– कुखुराको मासु राम्ररी पकाएर खाने 

– जंगली तथा घरपालुवा पक्षी मरेको वा बिरामी भएको देखिएमा नजिकको पशुस्वास्थ्यकर्मी÷पशुस्वास्थ्य कार्यालयमा तुरुन्त जानकारी गराउने ।

– इन्फलुएन्जाको शंका लाग्ने बित्तिकै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र चिकिल्सकको सल्लाह अनुसार गर्ने । चिकित्सकको सल्लाह बिना औषधि सेवन नगर्ने । 

– मृत पक्षी र तिनको सुलीबाट टाढा रहने र सुरक्षितरूपमा गाड्ने प्रबन्ध मिलाउने ।