सिद्धेश्वर शिवालय मन्दिरमा शिवमहापुराण ज्ञान महायज्ञ हुने

अर्घाखाँची । प्रशिद्ध धार्मिक स्थल सिद्धेश्वर शिवालय मन्दिर सन्धिखर्क २ चुत्रावेसी अर्घाखाँचीमा यहि बैशाख २३ गतेदेखि ११ दिने शिवमहापुराण ज्ञान महायज्ञ हुने भएको छ । 

जिल्ला सदरमुकाम सन्धिखर्कको काख चुत्रावेसी भक्तिटोलमा नेपालमै पहिलो पटक पूर्ण स्फटिक जडित शिवलिङ्ग ठड्याएर निर्माण गरिएको सिद्धेश्वर शिवालय मन्दिरको महत्व बुझाउन र धार्मिक, पौराणिक,सांस्कृतिक पक्षको संरक्षण र सम्बद्र्धनको निम्ती महायज्ञ हुन लागेको आयोजकले जनाएको हो । 

जिल्ला तथा मुलुककै शान्तिको संकल्प गर्दै पण्डित नारायण प्रसाद आचार्यको मुखारविन्दुबाट कथा वाचन हुने महायज्ञको बैशाख २३ गते विहान ८ बजे भव्य कलशयात्रा सहित शुभारम्भ हुने मूल आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी दिइयो । नेपाल तथा भारतका विभिन्न चर्चित धार्मिक स्थलहरुमा प्रवचन गर्दै आएका पण्डित आचार्यबाट कथा वाचन हुने आयोजकले जनाएको छ ।

 ११ दिन सम्म चल्ने ज्ञान महायज्ञमा विहान ८ बजेदेखी साँझ ५ बजे सम्मका सबै धार्मिक कार्यक्रमलाई आकर्षक र व्यबस्थित पार्नको निम्ती डिलाराम भुसालको संयोजकत्वमा १ सय १ सदस्यीय ११ दिने शिवपुराण ज्ञान महायज्ञ सम्पादन मुल आयोजक समिति र झन्डै डेढ दर्जन जति विधागत उप–समितिको गठन गरिएको छ । 

आयोजकको तर्फबाट संस्थाका सचिब कृष्ण प्रसाद भुसालको सहजिकरणमा सम्पन्न पत्रकार सम्मेलनमा मन्दिर संचालन समितिका अध्यक्ष नारायण प्रसाद खनाल र सदस्य नेत्र प्रसाद भुसाल लगायतले विषयबस्तु माथि प्रकाश पार्दै महोत्सव सम्पन्न गर्न झण्डै १० लाख रुपैंया भन्दाबढी खर्च हुने अनुमान गरिएको बताए । 

 महायज्ञ आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ ।