देश समृद्ध बनाउने धारणाले केहीको छाती पोल्छ–प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्ध बनाउने आफ्ना धारणाले केहीको छाती पोल्ने गरेको बताएका छन्।

१३० औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसको अवसरमा ट्रेड युनियनहरूले भृकुटीमण्डपमा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले कसैको नाम नलिई भने, ’देश समृद्ध बनाउँ भन्दा छाती किन पोलेको होला ? नेपाली सुखी बनाउँ भन्दा मन किन भतभत हुने,’ उनले भने, ’समृद्ध नेपाल सुखी नेपाली हामी सबैको राष्ट्रिय आकांक्षा हो । नेपाली जनता सुखी हुनै पर्छ। दुखको दिन अन्त्य गरिन्छ।’

उनले रोजगारदाता र श्रमिकको सहमतिमै ल्याइएको न्यूनतम तलब र सामाजिक सुरक्षालाई व्यवहारमै लागु गराउन सरकार प्रतिबद्ध रहेको बताए । 

प्रधानमन्त्री ओलीले मजदुरका मागहरूलाई लागू गराउन संयोजनको भूमिका खेल्ने बताए ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान सरकारले उद्योग खोल्न, विदेशी लगानी ल्याउन र भएको लगानी रोक्न नसकेको तथा युवा विदेशीनुलाई उपलब्धि मानेको भनेर दिएको अभिव्यक्तिको प्रधानमन्त्री ओलीले व्यंग्यात्मक जवाफ समेत दिए। उनले भने, ’राजेन्द्र महतोजीलाई सिमानामा नाकाबन्दी गरेर, पेट्रोल आउन नदिएर विकास हुन्छ ? भनेर म सोध्दिनँ।’  ओलीले महतोलाई फेरि भने,’सरकारले राम्रा काम गर्न थाल्यो समर्थन फिर्ता लिएर बस्नुभएको छ, अचम्म लाग्छ । समर्थन फिर्ता लिने होइन, फिर्ता गरौँ। एकठाउँमा बस्न मजदुरबाट सिकौँ।’ 

 राजपाले केही पहिले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।  उनले सरकारले हाँसिल गरेको आर्थिक वृद्धिदर राम्रो भएको जिकिर गरे।

प्रधानमन्त्री ओलीले इतिहासमै यो सरकारले मजदुरको हितको लागि काम गरेको दाबी गरे। 

सरकारले रोजगारको ग्यारेन्टी गरेको प्रधानमन्त्रीको भनाइ  थियो । उनले भने, ‘वर्षमा सय दिनको रोजगार ग्यारेन्टी गरेको छ । रोजगार नभए भत्ता दिइनेछ,’उनले भने,‘नेपाल जस्तो गरिबी देशमा भत्ता दिने व्यवस्था गर्नु चानचुने होइन । सरकारले आँट गरेको छ।’