काठमाडौं । माहिलामाथि घरेलु हिंसा गर्ने अधिकांशमा तिनका श्रीमान् नै संलग्न रहेको एक अध्ययनले देखाएको छ । गत चैत महिनामा भएका ६५ वटा घटनामा ५६ जना महिला आफ्ना श्रीमान्को संलग्नताबाटै हिंसामा परेको शनिबार सार्वजनिक भएको महिला पुनःस्र्थापना केन्द्र (ओरेक)ले जनाएको छ । नौवटा घटनामा श्रीमान्बाहेक परिवारका अन्य सदस्य संलग्न छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गर्दै केन्द्रले पछिल्लो समय घरेलु हिंसा विभिन्न आकारप्रकारले गरिरहेको पाइएको जनाएको छ ।
यी घटनामा कतै श्रीमान् एक्लै संलग्न छन् त केही घटनामा परिवारका अन्य सदस्यसमेतको सहयोगमा हिंसा भएको छ । जसमध्ये २४ जना श्रीमान्को समेत संलग्नतामा घर निकालामा परेका छन् । श्रीमान्ले विवाह दर्ता गर्न नमानेका चारवटा छन् भने नागरिकता नबनाइदिएका घटना तीनवटा छन् । स्वास्थ्य उपचारबाट वञ्चित गराएका घटना तीनवटा छन् ।
यसैगरी, पुरुषद्वारा भएका हिंसाका अन्य २९ वटा घटनामा बलात्कारका २० जना बलात्कारमा परेका छन् । एकजनाको बलात्कारपछि हत्या भएको छ । पाँचजनामाथि बलात्कारको प्रयास भएको छ भने र चारजना यौनदुव्र्यवहारमा परेका छन् । बलात्कारका २० वटा घटनामा १४ जना १८ वर्षमुनिका बालिका छन् । यीमध्ये १६ जना छिमेकीबाट र चारजना परिवारका सदस्यबाटै बलात्कारमा परेका छन् । यस्तै, बलात्कार गर्नेमा महिलाले आत्मीय ठानेकाबाट दुईजना, साथी ठानेका एकजना, श्रीमान् एकजना र कुनै सम्बन्ध नरहेका एकजना छन् ।
अन्य घटनामा बालविवाहका १०, हत्या ६, परिवारकै सदस्यबाट लैंगिक विभेदका कारण आत्महत्याका ४, बेचविखनको एक, र अनलाइनमार्फत हिंसा भएको ३ वटा घटना छन् । हिंसा गर्नेहरू २६ देखि ३५ वर्ष उमेरका ३३ प्रतिशत, १७ देखि २५ वर्ष उमेरका १७ प्रतिशत, ३५ देखि ४५ वर्ष उमेरका ९ प्रतिशत, ४६ वर्षभन्दा माथिका १५ प्रतिशत, १६ वर्षभन्दा कम उमेरका ४ प्रतिशत र उमेर समूह पहिचान नभएका २२ प्रतिशत रहेको तथ्यांक छ ।
समाजमा विद्यमान पितृसत्तात्मक संरचनाका कारण महिला र पुरुषबीचको शक्तिसन्तुलन असमान भएकाले महिलामाथि परिवारका सदस्य तथा श्रीमान्बाटै घरेलु हिंसा हुने गरेको महिला अधिकारकर्मी तथा केन्द्रको सूचना अधिकारी गर्दिका बज्राचार्यले बताइन् । उनले लैंगिक समानताका लागि जनचेतना फैलाउने प्रयास भए पनि लैगिक विभेदमा आधारित हिंसा न्यूनीकरण हुन नसकेको बताइन् ।
केन्द्रले गत चैत महिनाका विभिन्न राष्ट्रिय दैनिक पत्रपत्रिकाबाट प्राप्त ११८ वटा लैंगिक विभेदमा आधारित घटनाका तथ्यांक संकलन गरी अभिलेखीकरण गरेको थियो ।




















