खुलामञ्चका व्यापारीको प्रश्न, महानगर ! हाम्रो के गल्ती ?

काठमाडौं । खुलामञ्चको एकछेउमा सानो पालभित्र छोपेर राखिएका सामग्री निकालेर घाममा सुकाउँदै थिए रामशरण बेलवासे । दुई वर्षदेखि खुलामञ्चको एउटा सटर भाडामा लिएर सानो खाजा होटल चलाउँदै आएका उनको सटरमा शनिबार डोजर लगाइँदा उनले यस्तो होला भन्ने सोचेका थिएनन् । 

काठमाडौं महानगरले चालेको कदमले श्रीमतीको किड्नी फेर्ने र भर्खरै एसइई परीक्षा दिएकी छोरीलाई नर्सिङ पढाउने चाहनामा ठूलो धक्का पुगेको छ । शनिबार काठमाडौं महानगरपालिकाले खुलामञ्चभित्र ४० वटा सटरमा चलेका पसलमा डोजर लगाएको थियो । यसरी डोजर लगाएपछि व्यापारीको लगानी त डुबेकै छ परिवारको समेत विचल्ली भएको छ । 

बेलबासेले आफ्नो खाजाघरभित्रका सामान डोजरबाट जोगाउन हतारमा बाहिर निकालेर छोपेका थिए । तिनै सामान लिन आइतबार खुलामञ्च पुगेका थिए उनी । ग्यास चुलो, सिलिन्डर भाडाकुँडा र अन्य सामानहरू जोगाउन सके पनि टेबलकुर्सी, दराज र रेफ्रिजेरेटर जोगाउन सकेनन् । उनी भन्छन्, ‘एउटा डेराको एउटा सानो कोठा छ, यतिको सामान राख्ने ठाउँ नभएर रातभरि यहीँ कुरेर बसँे ।’ खाजा पसलमा डोजर चलेपछि पाँच वर्ष दुबईमा पसिना बगाएर गरेको लगानी गुमेको उनले बताए । किड्नीको बिरामले थला परेकी श्रीमतीको उपचार खर्च जुटाउन पनि समस्या हुने भएको छ । उनकी श्रीमतीले खुलामञ्चमा पसल थाप्न ७ लाख लगानी गरेर सटर भाडामा लिएपछि उनी नेपाल फर्किएका थिए । 

बेलबासेले ठेकेदार मनोज भेटवालसँग सटर भाडामा लिएको बताए । डोजर चलेपछि ठेकेदारसँग सम्पर्क हुन सकेको छैन । 

अर्का व्यापारी सन्तोष कार्कीले महानगरपालिकासँग सम्झौता भएकोले खुलामञ्चमा बसपार्क रहँदासम्म सटरमा कुनै समस्या नहुने आश्वासन दिएको बताए । महानगरपालिकाले अग्रिम सूचना दिएर भत्काएको भने पनि आफूहरूले त्यस्तो नपाएको व्यापारीहरूको भनाइ छ । कार्कीले भने, ‘हामीले ठेकेदारलाई विश्वास ग¥याँै तर महानगरले हाम्रो समस्या सुनेन ।’ महानगरले आफ्नो सामानसमेत निकाल्न नदिई डोजर लगाइदिएको र सानो व्यवसाय गरेर छोराछोरी पाल्ने बाटोसमेत खोसिदिएको गुनासो उनले गरे । 

मलीन मुद्रामा भेटिएकी अर्की व्यापारी हुन् मनमाया खत्री । कपडा व्यापार गर्दै आएकी मनमायाले तीन लाख रुपैयाँको क्षति भएको बताइन् । फुटपाथमा व्यापार गर्दै आएकी उनी खुलामञ्चमा सरेकी थिइन् । उनले भनिन्, ‘ठेकेदारलाई पाँच लाख बुझाएर पाँच वर्षका लागि भाडामा लिएकी थिएँ, आज एक्कासि डोजर चल्यो, भाडामा लगाउने ठेकेदार पनि छैन, हाम्रो कुरा कोही सुन्दैन ।’ ठेकेदार भेटवालले खुलामञ्चमा सटर बनाएर वार्षिक एक करोड ८२ लाख ५० हजार रुपैयाँ भाडा उठाउँदै आएको उनको भनाइ छ ।

प्रतिसटर ११ लाख रुपैयाँ सलामी बुझाएर भाडामा लिएको केही व्यापारीले बताए । सटर बनाउनुअघि नै भेटवालले पाँच करोड अग्रिम भुक्तानी लिएको व्यापारी सुन्दर बरालको भनाइ छ । आपूmहरूले शंका देखाउँदा पनि ठेकेदारले सम्झौता भएको पत्र मेयर र उपमेयरको हस्ताक्षर भएको पत्र देखाएपछि आफूले सटर भाडामा लिएको उनको भनाइ छ । उनले भने, ‘ठेकेदारले सबै प्रक्रिया पुगेको पत्र देखाएपछि हामीले भाडाका लिएका हौँ, हाम्रो दोष छैन, हामीले क्षतिपूर्ति पाउनुपर्छ ।’ 

सटर बनाएर भाडामा लगाउने ठेकेदारलाई नसमाई डोजर चलाउनु अन्याय भएको व्यापारीहरूको भनाइ छ । ठेकेदारलाई पक्राउ गरेको क्षतिपूर्ति दिलाउन उनीहरूको माग छ । ‘सानालाई ऐन, ठूलालाई चैन गर्न पाइँदैन,’ उनीहरूको प्रश्न छ, ‘महानगर ¤ हाम्रो के गल्ती ?’