काठमाडौं । साझा यातायातले काठमाडौंमा साझा बस थप्ने भएको छ । सरकार र काठमाडौं महानगरपालिकाको लगानीमा २० वटा साझा बस थप्ने तयारी भएको छ । हाल ५१ वटा साझा बस सञ्चालनमा छन् । साझा यातायातको सेवामा आमजनताको सकारात्मक प्रतिक्रिया रहेकोले यात्रा अझ सहज बनाउन साझा बस थप्ने तयारी भएको जनाइएको छ ।
नेपाल सरकारले ६५ प्रतिशत र काठमाडौं महानगरको ३५ प्रतिशत लगानीमा साझा बस सञ्चालन भइरहेको महानगरको भनाइ छ । हालसम्म साझा बसमा २० करोड रुपैयाँ लगानी भएको छ । जसमा महानगरपालिकाले भने ५ करोड लगानी गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।
हाल साझा बस चल्दै आएको रुटमा यात्रुको चाप धेरै छ । साझा बस चल्ने रुटहरूमध्ये बूढानीलकण्ठ रुट, जावलाखेल, बनेपा लगनखेल, थानकोटको रुटमा यात्रुको चाप धेरै रहेको जनाइएको छ । उनका अनुसार उचित भाडा, विद्यार्थी र ज्येष्ठ नागरिकका लागि छुट, सुविधायुक्तलगायत कारणले साझा बसमा यात्रुको आकर्षण धेरै छ । साझा बसको सेवा मध्यम तथा लामो दूरीमा पनि छ । उचित भाडामा सहज र सुरक्षित यात्रा हुने विश्वासमा लामो दूरीमा पनि साझा यातायातमा आकर्षण छ ।



















