काठमाडौं । हरेक वर्ष देशैभरी सवारी दुर्घटना परेर सयौँ यात्रुले ज्यान गुमाउने गरेका छन् । सवारीसाधनको खराब अवस्था, चालकको लापरबाही, खराब सडक आदि दुर्घटनाका मुख्य कारण मानिँदै आएका छन् । सवारी दुर्घटनाका दृष्टिले राजधानी काठमाडौंको चक्रपथभित्रको अवस्था पनि कम भयावह छैन । महानरीय ट्राफिक प्रहरी महाशाका अनुसार गएको आठ महिनामा चक्रपथभित्र मात्र १५ सय सवारीसाधन दुर्घटना भएका छन् । सडक तथा यात्रुको सुरक्षाका लागि महाशाखाले विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि दुर्घटनाको अवस्था भने निकै डरलाग्दो छ । गत साउन १ गतेदेखि फागुन मसान्तसम्मको तथ्यांकअनुसार चक्रपथभित्र मात्र १ हजार ४ सय ५० सवारीसाधन दुर्घटना भएका छन् । चक्रपथभित्र मात्र भएको सवारी दुर्घटनामा आठ महिनामा २९ जनाको ज्यान गएको छ ।
दुर्घटनामा ५३ जना गम्भीर घाइते र ९६० जना सामान्य घाइते भएको ट्राफिक महाशाखाले जनाएको छ । सबैभन्दा धेरै सातदोबाटो र स्वयम्भूमा दुर्घटना हुँदा ५–५ जनाको मृत्यु भएको थियो । कोटेश्वरमा ४, सानेपामा ३, एयरपोर्ट २, नयाँ बसपार्क ३, गौशालामा २, महाराजगञ्ज १, जावलाखेल २, बल्खु १, सुकेधारा १ गरी २९ जनाको मृत्यु भएको हो । ट्राफिक महाशाखाका अनुसार गत साउनमा ४, भदौमा ४, असोजमा २, कात्तिकमा ४, मंसिरमा ४, पुस ६, माघमा ३ र फागुनमा २ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाका अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना हुने गरेको छ । यसैगरी, एक सवारीसाधनले अर्कोलाई ठक्कर दिएर हुने दुर्घटना पनि धेरै छन् ।
चीन सरकारले बनाइदिएको कोटेश्वर–कलंकी सडक खण्डमा मात्र १२ जनाको मृत्यु भएको छ । चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलोमिटर ४ सय मिटर सडक विस्तार गरिदिएको थियो ।




















