एक कल फोन गर्न एक दिन पैदल

बझाङ । बझाङको साइपाल गाउँपालिकामा फोन गर्ने भिस्याट सेवा बिग्रेपछि स्थानीयवासी सम्पर्कविहीन बनेका छन् । २०६६ सालमा नेपाल टेलिकम र तत्कालीन काँडा गाविसको लगानीमा जडान गरिएको भि–स्याट सेवा बिग्रिएको हो । झण्डै तीन महिना अघिदेखि बिग्रिएको सञ्चालक गोरखबहादुर बोहराले बताए । मर्मत गर्न सदरमुकामबाटै प्राविधिक बोलाउनुपर्छ तर प्राविधिकहरू जान नमानेको बोहराको भनाइ छ ।  

दूरसञ्चार कार्यालयमा समेत पटकपटक आग्रह गर्दा पनि बन्न नसकेको बोहराले बताए । सदरमुकाम चैनपुरबाट भिस्याट भएको ठाउँसम्म पुग्न करिब तीन दिन लाग्छ । बझाङको हिमाली क्षेत्रको साइपाल गाउँपालिकाको पाँच गाउँका दुई हजारभन्दा बढी बासिन्दा एक कल फोन गर्न एक दिनको पैदल यात्रा गर्न बाध्य छन् । धुली, लौडी, न्युना, धलौन गाउँका बासिन्दाहरू अहिले पनि घण्टौं हिँडेर काँडाको बाझचौकामा रहेको एक मात्र भिस्याटसम्म पुग्नुपर्छ । ‘घरबाट काँडा जान एक दिन लाग्छ, फोन गर्नुप¥यो भने बिहानै आएर यतै बस्नुपर्छ,’ धलौनका वसन्त बोहराले भने ।  

अहिले यहाँका बासिन्दा भीरको बाटो भएर अग्लाअग्ला डाँडामा गएर फोन सम्पर्क गर्ने गरेका छन । धुलीका बासिन्दा एकदिन पैदल हिँडेर नुवामुल डाँडामा फोन गर्न जाने गरेको स्थानीय बासिन्दा प्रेम लामाले बताए । 

साइपाल गाउँपालिकाको धलौन गाउँमा २०६८ सालमा स्मार्ट टेलिकम कम्पनीले पाँचवटा भिस्याट लाइन जोडे पनि एक वर्षपछि सबै लाइन बन्द भएका थिए । धलौन गाउँ पनि बाझचौकाबाट सात घण्टाको पैदल दूरीमा छ । साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले अहिले धलौन नजिकै टेलिकमको टावर जडान भइरहेको र केही दिनपछि समयपछि टेलिफोन सहज हुने बताए ।