काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न गर्न थप ४ खर्बभन्दा बढी रकम आवश्यक पर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा कुल ९ खर्ब ३८ अर्ब लागत अनुमान गरिएकोमा करिब ४ खर्ब २९ अर्ब थप रकम आवश्यक पर्ने प्राधिकरणले जनाएको हो ।
आर्थिक वर्ष ०७४÷७५ मा पुनर्निर्माणका लागि १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ भने चालू आर्थिक वर्षमा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले बताए । उनले पुनर्निर्माणको काम द्रुत गतिमा अघि बढिरहेको भन्दै निर्धारित समयावधिभित्रै सम्पन्न हुने दाबीसमेत गरे ।
प्राधिकरणले मंगलबार पत्रकार सम्मेलन गरी हालसम्मको प्रगति र भावी योजनाबारे जानकारी दिएको छ । निजी आवास पुनर्निर्माणलाई केन्द्रविन्दुमा राखेर काम गरिरहेकोमा हालसम्म निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको ज्ञवालीले बताए । उनका अनुसार अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घरपरिवारमध्ये ६ लाख १२ हजार ९३५ घरपरिवार पुनर्निर्माण प्रक्रियामा छन् । जसमध्ये ५० प्रतिशत अर्थात् ३ लाख ८२ हजार २७७ परिवारले आप्mनो घर पुनर्निर्माण सम्पन्न गरिसकेका छन् भने ३० प्रतिशत अर्थात् २ लाख ३० हजार परिवारको घर पुनर्निर्माणकै क्रममा छ ।
त्यस्तै, विद्यालयतर्फ ८३ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ । भूकम्पबाट ७ हजार ५५३ विद्यालय क्षति भएकोमा ५९ प्रतिशत अर्थात् ४ हजार ४७६ को पुनर्निर्माण सम्पन्न भइसकेको छ भने एक हजार ७७२ विद्यालय निर्माणाधीन अवस्थामा छन् । त्यस्तै, स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ ६६ प्रतिशत प्रगति भएको छ । ५४ प्रतिशत अर्थात् ६४३ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ भने १२ प्रतिशत अर्थात् १४५ निर्माणाधीन अवस्थामा छन् । पुराताŒिवक महŒवका सम्पदातर्फ ५९ प्रतिशत प्रगति देखिएको छ, जसमा २२४ अर्थात् ३० प्रतिशत सम्पन्न भइसकेका छन् भने २२१ अर्थात् २९ प्रतिशत निर्माणाधीन अवस्थामा छन् ।
सुरक्षा निकायका भवन पुनर्निर्माणमा पनि ५६ प्रतिशत प्रगति भएको छ । जसमा ३८ प्रतिशत अर्थात् १४५ निर्माण सम्पन्न भइसकेका छन् भने १८ प्रतिशत अर्थात् ७१ वटा भवन निर्माणाधीन अवस्थामा छन् । ६३ प्रतिशत पुनर्निर्माण भइसकेको छ भने ३५ प्रतिशत निर्माणाधीन अवस्थामा छन् । राजनीतिक संक्रमण, संविधान निर्माण प्रक्रिया, नाकाबन्दी र भूकम्प गएको ८ महिनापछि मात्रै प्राधिकरण स्थापना हुनु, राजनीतिक अस्थिरतासँगै प्राधिकरणको नेतृत्व परिवर्तनलगायत चुनौतीका बाबजुद प्राप्त उपलब्धि सन्तोषजनक रहेको प्राधिकरणले जनाएको छ । विनाशकारी भूकम्प गएको वैशाख १२ गते चार वर्ष पुग्दै छ । प्राधिकरणले काम सुरु गरेको भने ३६ महिना मात्रै भएको छ ।
२०७२ वैशाख १२ गते शनिबार दिउँसो ११ बजेर ५६ मिनेटमा ७.६ रिक्टर स्केलको विनाशकारी भूकम्प आएको थियो । त्यसको १८ दिन पछि फेरि वैशाख २९ गते अर्को ठूलो परकम्प आएको थियो ।




















