न्युयोर्क । बन्दुकधारीले मध्यमालीको मोप्ती क्षेत्रमा रहेको ओगासागुमा रहेका आदिवासी फुलानी समुदायमाथि जग्गा तथा सिँचाइबारे डोगान जातिसँग भएको विवादपछिको आक्रमणमा कम्तीमा एक सय ३४ जनाको मृत्यु भएको अनुगमनका लागि पुगेको संयुक्त राष्ट्रसंघको टोलीले जानकारी गराएको छ ।
शनिबार बिहान गाउँ घेरा हाली गरिएको आक्रमणमा यति ठूलो संख्यामा सामूहिक हत्या भएको एक स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणकारीले स्थानीय अगोसागा पेउल गाउँका अधिकांश घर तथा टहरामा आगजनीसमेत गरेका बताइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसद्वारा मालीको एउटा ग्रामीण बस्तीलाई घेरा हाली एक बन्दुकधारी समूहले गरेको आक्रमणबाट महिला तथा बालबालिकासहित कम्तीमा एक सय ३४ जनाको हत्या गरिएको घटनाको घोर भत्र्सना गरेको राष्ट्रसंघ प्रमुख गुटेर्रेसका सह–प्रवक्ता फारहन हकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अगोसागा पेउल गाउँलाई बन्दुकधारी ठूलो समूहले घेरा हाली गरेको आक्रमणमा कम्तीमा ५५ जना घाइते भएका थिए । घाइतेमध्ये कैयौंको अवस्था गम्भीर रहेको बताइएको छ ।
‘महासचिवले उक्त घटनाको भत्र्सना गर्दै घटनाको तत्काल अनुसन्धान गरी उक्त जघन्य आक्रमणमा सम्लग्नलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन मालीका अधिकारीलाई आग्रह गर्नुभएको छ,’ हकले भने, ‘उहाँले मृतकका परिवार तथा आफन्तजन, मालीका जनता तथा सरकारप्रति समवेदना व्यक्त गर्दै घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।’ त्यस्तै, राष्ट्रसंघ प्रमुखले मालीका अधिकारीलाई मध्यमालीमा शान्ति तथा स्थायित्व ल्याउने प्रयासलाई दोब्बर गरेर अघि बढ्न आग्रह गरेका छन् ।


















