‘लिभिङ टुगेदर’ मा बढ्दो समस्या

काठमाडौं । खोटाङ घर भएकी राई थरीकी एक युवती महिला आयोगमा आफ्ना समस्या लिएर धाएको एक महिनाभन्दा बढी भयो । तीन वर्षदेखि ‘लिभिङ टुगेदर’ मा रहेकी उनलाई आफ्ना प्रेमीले धोका दिएको महसुस भएपछि बिहे हुने आशमा उनी महिला आयोग धाउँदै छिन् ।

वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुगेकी ती युवतीको सामाजिक सञ्जालमार्फत् काठमाडौंमा सवारी चालकको काम गर्दै आएका महर्जन थरका युवकसँग चिनजान भयो । साथीका रूपमा चिनजान भएको सम्बन्ध विस्तारै प्रेममा परिणत भयो । दुवै जना ‘लिभिङ टुगेदर’ मा बस्न लागे । बिहेअघि दुई जना ‘लिभिङ टुगेदर’ मा बस्ने र चाँडै बिहे गर्ने सहमति भयो । यसरी ‘लिभिङ टुगेदर’ मा बसेका उनीहरूमा मनमुटाव सुरु भयो । अन्ततः उनीहरू छुट्टै बस्न थालेका छन् । ‘बिहे गर्ने प्रलोभन देखाएर तीन वर्षसम्म शारीरिक सम्बन्ध राख्यो,’ ती युवती भन्छिन्, ‘मैले विदेशबाट ल्याएको पैसाले जग्गा किनेको छ, जग्गा उसैको नाममा छ, बिहे गरौँ भन्दा नमानेर अलग बस्न थाल्यो, म आयोगसम्म आइपुगेकी छु ।’

दुईजनाको सहमतिमै ‘लिभिङ टुगेदर’ बसेको भए पनि युवक आफ्नो स्वार्थ पूरा भएपछि सम्पर्कमै आउन नचाहेकाले कानुनी कारबाही खोज्न बाध्य भएको युवतीको भनाइ छ ।

पश्चिमा समयमा सामान्यजस्तै बन्न थालेको ‘लिभिङ टुगेदर’ को परम्परा नेपालमा पनि बढ्न थालेको छ । पछिल्लो समयमा ‘लिभिङ टुगेदर’ बढ्दै गएपछि त्यसले समस्या पनि निम्त्याउन थालेको छ । राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजुरी पनि बढ्न थालेका छन् । महिला आयोगमा आउने ‘लिभिङ टुगेदर’ का धेरैजसो उजुरी  पनि ‘सम्बन्ध स्थापित गरीपाउँ’ भन्ने खालका आउने गरेको महिला आयोगका सूचना अधिकारी धु्रवराज क्षेत्रीले बताए । सुरुमा सहमतिमा सँगै बस्ने तर केही समयपछि  पुरुष फरार हुने घटना हुन थालेपछि पीडित महिला उजुरी लिएर आयोगसम्म आइपुग्ने गरेको क्षेत्री बताउँछन् ।

उनका अनुसार सामान्य नागरिकका उजुरीका सवालमा चित्तबुझ्दो नतिजा आए पनि सुरक्षाकर्मीका सवालमा भने अहिलेसम्म चित्तबुझ्दो नतिजा आउन सकेको छैन । आयोगले लिभिङ टुुगेदरसम्बन्धी आउने उजुरीको तथ्यांक घरेलु हिंसाअन्तर्गत नै राख्ने गरेको छ । आयोगको तथ्यांकअनुसार २५ प्रतिशत उजुरी शारीरिक यातनासँग सम्बन्धित छन् । त्यस्तै २९ प्रतिशत आर्थिक विषयसँग र १० प्रतिशत यौन यातनासँग सम्बन्धित छन् भने ३६ प्रतिशत उजुरी भावनात्मक यातनासँग सम्बन्धित रहेका छन् ।

चालु आर्थिक वर्ष २०७५/७६ को फागुनसम्मको तथ्यांकअनुसार घरेलु हिंसाका उजुरी आठ सय १८ र महिला हिंसाका एक सय सात गरी जम्मा नौ सय २५ उजुरी परेका छन् । तथ्यांकअनुसार घरेलु हिंसाका उजुरी ८५ प्रतिशत छन् भने महिला हिंसाका उजुरी १५ प्रतिशत छन् । सबैभन्दा बढी उजुरी दलित, जनजाति तथा पिछडिएको समुदायका महिलाबाट पर्ने गरेको देखिएको आयोगले बताएको छ । आयोगका अनुसार सबैभन्दा बढी महिला हिंसाका घटना काठमाडौंमा हुने गरेका छन् ।

आयोगमा परेका उजुरी सुनुवाइका लागि ल्याक, सेलर्ड, नेपाल बार एसोसिएसन, साथीलगायत अन्यसँस्थासँग पनि सहकार्य गरी कानुनी सहायतासमेत गर्दै आएका छन् । आयोगको निःशुल्क हटलाइन नम्बर ११४५ मार्फत् केही उजुरी दर्ता हुने गरेका छन् ।