काम नसकी ठेकेदार बेपत्ता

राजविराज । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत सप्तरीको कुशाहा–बेल्ही सडक स्तरोन्नाति पूरा नहुँदै जीर्ण बनेको छ । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण तोकिएको समयसीमाभित्र सडक स्तरोन्नतिको हुन सकेको छैन । हालसम्म गरिएको कालोपत्रे अधिकांश ठाउँमा उप्किएको छ भने खाल्डाखुल्डी भएर सडक जीर्ण देखिन थालेको छ ।

स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते नै सकिए पनि ठेकेदार कम्पनीले काम सम्पन्न नगरी सडक अलपत्र छाडेको छ । सडक स्तोरोन्नति र नाला निर्माणमा चरम लापरवाही देखिए पनि तत्कालीन जिल्ला प्राविधिक कार्यालयका कर्मचारीको मिलोमतोमा सात करोड ३५ लाख ९४ हजार ३४५ रुपैयाँ निकासा भइसकेको कार्यालयका एक अधिकारीले बताए ।

सप्तरीको सुरुगा नगरपालिकाको कुशहा बजारदेखि बलान बिहुल गाउँपालिकामा पर्ने भारतीय सीमावर्ती क्षेत्र बेल्हीसम्म करीब साढे १६ किलोमिटरको उक्त सडक योजनाअन्तर्गत किनारामा वृक्षरोपणसमेत गर्ने भनिए पनि एउटै रूख नरोपिएको स्थानीयवासीले गुनासो छ ।

योजनाअन्तर्गत नाला निर्माणमा पनि ठेकेदारले अनियमितता गरेकाले छानबिन गर्नुपर्ने बलान बिहुल गाउँपालिका–५ का वडाध्यक्ष मो. हन्सु बताउँछन् ।

ठेकेदार कम्पनीले कमिसनका लागि अन्य साना पेटी ठेकेदारमार्फत काम गराउँदा समयमा पूरा नभएको र भएको पनि गुणस्तरहीन रहेकोले छानबिन हुनुपर्ने उनको माग छ । ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीलाई पत्र लेखर वितरण मागेको थियो ।

आयोगले गत कात्तिक १५ मा जिल्ला प्राविधिक कार्यालय राजविराजको नाममा पत्र लेखेर उक्त सडकको हालसम्मको विवरण मागेर छानबिन थालेपछि ठेकेदार कम्पनीले गत फागुनको पहिलो साता काम अघि बढाएको थियो र केही दिनयाता काम बन्द भएको स्थानीयवासीको भनाइ छ ।

जिल्ला प्राविधिक कार्यालय सप्तरीले श्रीपप्पु मृतसञ्जीवनी जेभी, काठमाडौँ नामको ठेकेदार कम्पनीलाई काम जिम्मा दिएको थियो । कुल ११ करोड एक लाख ७९ हजार ५५२ रुपैयाँको लागतको उक्त योजनाअन्तर्गत नाला निर्माण र वृक्षरोपण पनि हुनुपर्ने थियो । केही ठाउँमा नाला बनाए पनि वृक्षरोपण भने भएको छैन ।

प्रदेश सरकारअन्तर्गत सिरहामा स्थापना गरिएको जिल्ला पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख राजकुमार गोइतले ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी रोक्का गर्ने गरी कारबाहीको प्रक्रिया शुरु गरेको बताए ।