काठमाडौं । होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले झण्डै एक सयजनालाई पक्राउ गरेको छ । उनीहरू काठमाडौं उपत्यकामा पक्राउ परेका हुन् । जबर्जस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने र अवाञ्छित गतिविधिमा संलग्न ८४ जना पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंमा एक महिलासहित ४५ जना, ललितरपुरमा ३५ जना र भक्तपुरबाट चारजना पक्राउ परेका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरीले पाँच सय १५ मोटरसाइकल र चारवटा गाडी नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले १७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
महानगरीय ट्राफिक महाशाखाले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर दिनभर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गरेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाइएको जनाएको छ । प्रहरीले विगत वर्षको तुलनामा यस वर्ष काठमाडौंमा शान्तिपूर्ण रूपमा होली पर्व मनाइएको र कुनै अप्रिय घटना नभएको जनाएको छ । उता प्रदेश नम्बर ७ धनगढीमा पनि उच्छृंखल गतिविधि गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ ग गरिएको प्रहरीले जनाएको छ ।
झडपमा २ जना घाइते
होलीको समयमा देशभरी कुनै अप्रिय घटनाका खबरहरू नआए पनि राजधानीमा भने होली खेल्नेहरूबीच झडप भएको छ । राजधानी काठमाडौंको नयाँबानेश्वर चोकमा एक क्याफेमा भएको झडपमा दुईजना घाइते भएका छन् । प्रहरी वृत नयाँबानेश्वरका प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार घटनामा संलग्न एकजनालाई नियन्त्रण लिइएको छ । अन्य दुईजना फरार भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । झडपका क्रममा बोतल हानाहान हुँदा दुईजना घाइते भएको काफ्लेले पुष्टि गरे । काफ्लेका अनुसार छत्र भण्डारी र सौगात केसी सामान्य घाइते भएका छन् । उपचारपछि उनीहरू घर फर्किसकेका छन् ।
बानेश्वरको एक क्याफेमा उनीहरू मादक पदार्थ सेवन गरिरहेको र सामान्य विषयमा विवाद हुँदा झडप भएको बुझिएको उनले बताए । प्रत्यक्षदर्शीहरूले खुकुरी देखाएपछि विवाद सुरु भएको भने पनि घटनास्थलबाट खुकुरी भने बरामद नभएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेकाले अहिले नै कारण भन्न नसकिने उनले बताए ।



















