कञ्चनपुर । मंगलबार अदालतसमक्ष आत्मसमर्पण गरेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टको बयान सकिएको छ । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी विष्टको बयान सकिएको जिल्ला अदालत कञ्चनपुरका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए । उनका अनुसार मंगलबार यातनासम्बन्धी मुद्दामा बयान लिइएको थियो । बुधबार प्रमाण नष्टको मुद्दामा बयान लिइएको हो ।
विष्टको बयान सकिए पनि थुनछेक बहस जारी रहेको छ । बुधबार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासमा सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता देवराज भारती र सहन्यायाधिवक्ता मोहन जोशी तथा विष्टका तर्फबाट अधिवक्ता कृष्णदेव जोशीले बहस गरेका थिए । वहस शुक्रबार पनि हुनेछ । विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।
प्रमाण नष्ट गरेको तथा यातना दिएको अभियोगमा तत्कालीन एसपी विष्ट, तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध निर्मलाकी आमाले उजुरी गरेकी थिइन् । प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्सपेक्टर जगदीश भट्ट, सईहरू हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध मुद्दा दायर गरिएको थियो । उनीहरु धरौटीमा रिहा भएका छन् । विष्ट र सिआइवीका डिएसपी अंगुर जिसी फरार थिए । अदालतले उनीहरूविरुद्ध ३५ दिने सूचना जारी गरेको थियो । फरार रहेका दुई जनामध्ये विष्टमात्रै हाजिर भएका हुन् । जिसी भने अझै सम्पर्कबाहिर छन् ।



















