काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चन्दा उठाउनुलाई नैसर्गिक अधिकार भएको प्रतिक्रिया दिएको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि प्रतिबन्धको निर्णय गरेको थियो ।
तर, विप्लव समूहले विज्ञप्ति जारी गर्दै राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको प्रतिक्रिया दिएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ र उदाङ्गो खेल हो। हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौँ। कसैको दलाली गरेर कमिसन खाएका छैनौँ’,नेत्रविक्रम चन्द विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ’हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौँ। अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौँ भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो।’
विप्लव समूहले सरकारको कदमलाई हास्यास्पद भन्दै एकरति पनि नझुक्ने चेतावनी समेत दिएको छ ।
अरुण तेस्रो र एनसेललाई आफूहरूले कारबाही मात्रै गरेको पनि विज्ञाप्तीमा जनाएको छ । अरुण तेस्रो राष्ट्रघाति सम्झैता गरेर प्रधानमन्त्री ओली र गृहमन्त्री बादलले अबौँ कमिसन खाएको गम्भीर आरोप समेत लगाएको छ ।
क्रान्ति अहिलेको आवश्यकता भन्दै उसले दमन भएमा त्यसको मुखतोड प्रतिरोध गर्ने चेतावनी दिएको छ ।




















