काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलगायत दिवंगत अन्य ६ जना प्रति संयुक्त श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ ।
बिहिबार भृकुटीमण्डपमा सम्पन्न श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष केपी ओली, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताले सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री ओलीले सरकारको काम आलोचकलाई मात्रै मन नपरेको टिप्पणी गरेका छन् । दिवंगत नेकपाका दुई नेताले पार्टीलाई पुर्याएको सहयोग विर्सन नसकिने उल्लेख गर्दै उनले भने, “मन्त्री रवीन्द्र अधिकारीले एकवर्षे कार्यकालमा बिर्सनै नसकिने र उपेक्षा गर्न नसकिने गरी काम गरेका छन् ।”
मन्त्री अधिकारीले विषयगत क्षेत्रमा उल्लेख्य काम गरेको प्रधानमन्त्रीले चर्चा गरे । “केही मानिसलाई सरकारका काममा आलोचना, टिप्पणीमात्रै गर्ने बानी परेको छ,” प्रधानमन्त्री ओलीको दाबी थियो, “तर रवीन्द्र अधिकारीले पनि आफ्नो क्षेत्रमा असाधारण काम गर्नुभएको थियो ।”
बुधबारमात्रै अस्पताल भर्ना भएका प्रधानमन्त्रीले सभामा मन्तव्य राख्दै हेलिकप्टर दुर्घटनामा दिवंगत सातै जनाले मुलुकको लोकतन्त्र, राजनीतिक स्थायित्वका लागि अहम् भूमिका खेलेको चर्चा गरे ।
त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनअपेक्षा अनुसार छिटो काम गर्दै सुशासनलाई गति दिनुपर्ने बताए । अहिलेको जस्तो राजनीतिक स्थिरताको वातावरण सँधै नपाइने उनको भनाइ थियो ।
उनले भने, ‘अहिलेको जस्तो अवसर सँधै पाइँदैन । ७० वर्ष देखिको त्याग तपस्या पछि एउटा राजनीति स्थिरताको वातावरण बनेको छ’, प्रचण्डले भने, ‘जनअपेक्षा अनुसार छिटो भन्दा छिटो विकासलाई, शुसासनलाई, संस्कारलाई गति दिने दाइत्व हाम्रो काँधमा छ ।’
पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको यही फागुन १८ गते निधन भएको थियो भने मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको यही फागुन १५ गते ताप्लेजुङको दारेढुंगामा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।
श्रद्धाञ्जलि सभामा नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल, केन्द्रीय सदस्य बामदेव गौतम गृहमन्त्री रामबहादुर थापा ’बादल’, नेकपाका नेतालगायत मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईसहित छोराहरु तथा दिवंगत ब्यक्तिका परिवारका सदस्यहरुको उपस्थित रहेको थियो ।


















