बैंकको विश्वइतिहास
बैंक शब्दको प्रयोग मध्ययुगीन इटालीमा सन् १११५७ मा ‘भेनिसको बैक’ स्थापना भएपछि भएको मान्ने गरिन्छ । मध्ययुगीन इटालीमा बैंकसम्बन्धी विविध काम हुने क्रममा जनताको सम्पत्तिबाट अनिवार्य ऋण उठाउने गरिन्थ्यो । त्यस्तो ऋण रकमलाई मान्टे भनिन्थ्यो त्यहाँ । त्यही मान्टे शब्दलाई पछि बैंक भन्न थालिएको हो भन्ने इतिहास पढ्न पाइन्छ । जर्मन भाषमा बैकलाई मान्टे भनिन्छ ।
सामान्यतया मुद्रा तथा साखको कारोबार गर्ने व्यावसायिक संस्थाहरूलाई बैंक भन्ने गरिन्छ । खासगरी बैंकले निक्षेप संकलन तथा स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, विदेशी विनिमयको कारोबार गर्ने, जमानत जारी गर्ने, मुद्रा स्थानान्तरण गर्ने र साख सिर्जना तथा जारी गर्नेजस्ता महŒवपूर्ण काम गर्छन् । यस्ता काम हुने बंैकको स्थापना, सञ्चालन र कार्य सम्पादनसम्बन्धी नीतिगत व्यवस्था, संस्थागत व्यवस्था र स्रोत तथा साधनसम्बन्धीको व्यवस्थापन प्रणालीलाई बैकिङ व्यवस्थापन भन्ने गरिन्छ ।
खासगरी बैंकको विकास मुद्राको विकास भएसँगै भएको हो । त्यसकारण बैकको विकासक्रम धेरै पुरानोसमेत हो । सन् ११५७ इटालीमा ‘भेनिसको बैक’ स्थापना भएपछि सन् १४०१ मा स्पेनको बार्सिलोनामा, सन् १६०९ मा हल्याण्डमा र सन् १६१९ मा जर्मनीमा क्रमशः बैंक स्थापना भए । बैंकको विश्व इतिहासछि संसारभर बैंकको विकासक्रम मौलाएको पाइन्छ । जहाँ–जहाँ औद्योगिक विकास छिटोछिटो भयो ती ठाउँमा बैंकको पनि छिटोछिटो विकास भयो । औद्योगिक विकासमा पछाडि परेका मुलुकमा बैंकहरूको विकास पनि पछाडि परेको पाइन्छ । यसरी उद्योग, व्यवसाय र बैंकबीच इतिहासदेखि नै अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ ।
नेपालमा बैंकको इतिहास :
नेपालको बैंक तथा वित्तीय क्षेत्रको इतिहास करिब एक शताब्दी पुरानो हो । यो अवधि धेरै लामो होइन र व्यवासायिक दृष्टिले थोरै पनि होइन । विसं १९९४ मा नेपाल बैंकको स्थापना भएसँगै नेपालमा औपचारिकरूपमा बैंकको विकासक्रम सुरु भएको हो ।
त्यसपछि नेपालमा विसं २०१३ मा अहिलेको केन्द्रीय बंैक ‘नेपाल राष्ट्र बैक’ स्थापना भएको हो । स्थापनाको सुरुवाती अवस्थादेखि केही दशकसम्म यस बैंकले बैंकिङ कारोबार गरे तापनि पछिल्लो अवस्थामा यस बैंकले अन्य निजी तथा सरकारी बैंकको नियमन तथा सुपरीवेक्षण, संरक्षणको काम गर्दै आएको छ । त्यसकारण नेपाल राष्ट्र बैंकलाई बैंकहरूको पनि बैक अर्थात् केन्द्रीय बैंक भनेर भनिन्छ । यसले सबै बैंकहरूलाई नियम र परिधिमा बाँध्ने, सरकारलाई वित्तीय व्यवस्थापनका लागि जनतामा ऋणपत्र जारी गर्ने, नोट निष्कासन तथा पुराना नोटहरूको व्यवस्थापन गर्ने, गलत वित्तीय गतिविधि नियन्त्रण गर्ने, मौद्रिक नीति बनाउने र त्यसैअनुरूप बैंकिङ क्षेत्रलाई व्यवस्थापन गर्ने काम नेपाल राष्ट्र बैंकले गर्दै आएको छ । हाल नेपालका सबै बैंक तथा वित्तीय कम्पनीहरू राष्ट्र बैंककै निर्देशनबमोजिम चल्दै आएका छन् । नेपाल राष्ट्र बैकको स्थापनापछि विसं २०२२मा राष्ट्रिय वाणिज्य बंैक र विसं २०२४ मा कृषि विकास बैंक स्थापना भए । यसपछि नेपालमा बैंकिङ विकासक्रम झन् बढेर गयो ।
२०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र पुनर्बहाली गरेपछि सरकारले नेपालमा उदारीकरण तथा निजीकरणको नीति लियो । फलस्वरूप नेपालका निजी क्षेत्रले पनि बैंक खोल्न थाले । राष्ट्र बैंकले पुराना ऐनहरू खारेज गरेर ल्याएको ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३’ ले यस क्षेत्रलाई फैलिन झन् बढी मद्दत गरेको देखिन्छ । नेपालमा निजी क्षेत्रले सञ्चालनमा ल्याएको पहिलो बैंक हिमालयन बैंक हो । यसपछि निजी क्षेत्रले बैंकिङ सेवा विस्तार गर्न थाल्यो । हुँदाहुँदा सरकारले नियन्त्रण गर्नु पर्ने अवस्था उत्पन्न भयो ।
त्यसयता नेपालमा बैंकको विस्तार बैंकसम्मको पहुँच तथा कारोबारको आकार हेर्दा थोरै सन्तोष गर्ने ठाउँ भए पनि खुसी मनाउने अवस्थाचाहिँ छैन । तुलनात्मक हिसाबले छोटो अवधिमा बैंकको संख्या हृवात्तै बढे पनि भौगोलिक आधारमा विस्तार भएन । थोरै ठाउँमा थुप्रिए । बैंकसम्बन्धी तथ्यांकहरूले यस्तै अवस्था चित्रण गर्छन् ।
वर्तमान अवस्था र भविष्य
बैकिङ क्षेत्रको एक शताब्दी पुरानो विकासक्रमसँगै बल्ल नेपालमा ४१ प्रतिशत मानिस बैंकको पहुँचमा आइपुगेका छन् । तथ्याङकअनुसार १८ प्रतिशत नेपाली अहिले पनि बैंकसँगको वित्तीय पहुँचबाट बाहिर छन् । यसैगरी २० प्रतिशत मानिसले गैरबंैकिङ कारोबारहरू गरिरहेको र २१ प्रतिशतले अनौपचारिक बैंकिङ कारोबार गरिरहेको तथ्याङ छ । यसरी नेपालमा अझै पनि झण्डै ६० प्रतिशतमानिस बैंकिङ च्यानलमा आउन सकेको देखिँदैन । त्यसमध्ये बैंकहरूको कुल निक्षेपको ६० प्रतिशत र कर्जाको ४० प्रतिशत कारोबार काठमाडौं उपत्यकामै हुने गरेको छ । अर्थात् जिडिपीको २३ प्रतिशत आर्थिक कारोबार काठमाडौं उपत्यकामै हुने गरेको छ । कमजोर वित्तीय पहुँच र कमजोर साक्षरताले गर्दा पनि काठमाडांैभन्दा बाहिरका ठाउँहरूमा आर्थिक गतिविधि अझै राम्ररी मौलाउन सकेको देखिँदैन । सबै ठाउँमा बैंक पुग्न सकेका छैनन् ।
यद्यपि नेपाल राष्ट्र बैंकले बैंकहरूको मर्जरलाई प्रोत्साहन गर्ने र पुँजी वृद्धि गर्ने गरी आर्थिक वर्ष ०७३÷७४ मा राष्ट्र बैंकले मौद्रिकनीतिमार्फत् ‘क’ वर्गका वाणिज्य बंैकहरू, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका फाइनान्स कम्पनी र ‘घ’ वर्गका लघुवित्तहरूको साविक पुँजी अनिवार्यरूपमा चार गुणा वृद्धि गर्ने प्रावधान ल्यायो । बैंकहरूले दुई वर्षबीच राष्ट्र बैंकले तोकेबमोजिमको पुँजी वृद्धि गरे । पुँजी वृद्धिकै प्रावधानका कारण ३२ ओटा वाणिज्य बैंकमा केही मर्जर भएर हाल २८ ओटामा झरेका छन् । कुल ६५ ओटा विकास बैंक आधाभन्दा बढी घटेर अहिले ३३ मा आइपुगेका छन् । फाइनान्स कम्पनीको पनि साविक संख्या घटेर अहिले २४ ओटामा आइपुगेका छन् । यसैगरी ७२ ओटा लघुवित्तहरूले अहिले गाउँगाउँमा आफनो सेवा दिइरहेका छन् । यसरी पूँजी वृद्धिको नीतिले अहिले बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटेको देखिन्छ । उनीहरू व्यवस्थित पनि हुँदै गएका छन् । विश्वस्तरीय सेवासुविधा दिने काममा नेपालको बैंकिङ क्षेत्र पनि यतिबेला प्रतिस्पर्धामा छ । यसरी हेर्दा नेपालको बैंक तथा वित्तीय क्षेत्र बडो व्यवस्थित, विस्तारित, पारदर्शी एवं आधुनिक बन्दै गएको देखिन्छ ।
मुलुकमा संघीय संविधान बनेर संघीय राज्यव्यवस्था लागू भएसँगै बंैक पनि संघीय स्वरूपमा काम गर्ने अभ्यासमा छन् । राष्ट्र बैकले पनि ७५३ ओटै स्थानीय तहमा शाखा पु¥याउन बंैकहरूलाई निर्देशन गरिसकेपछि अहिले बैंक धेरैजसो स्थानीय तहमा आफ्ना शाखा विस्तार गर्न लागिपरेका छन् । संघीयता लागु भएसँगै र स्थानीयस्तरको निर्वाचन भएर स्थानीय सरकारहरूले काम गर्न थालेसँगै गाउँ गाउँमा आर्थिक गतिविधि बढ्न थालेको छ । स्थानीय सरकारहरूको गतिविधि बढेसँगै बैंकलाई पनि गाउँ जान सजिलो भएको छ । वित्तीय साक्षरता बढ्न थालेको छ । फलतः भावी दिनहरूमा काठमाडौं केन्द्रित आर्थिक क्रियाकलाप गाउँगाउँसम्म विस्तार हुने देखिन्छ । बैंकहरूलाई कारोबार विस्तारको अवसर प्राप्त भएको छ । बैंकमार्फत् कारोबार गर्ने बानी क्रमशः विकास हुँदै गएको छ । द्रूत गतिमा फैलिँदो डिजिटल सुविधाले बैंक र ग्राहक दुवैलाई सहज भएको छ । यसको फाइदा दुवै पक्षले लिन सक्छन् । पहल गरेर फाइदाको अवसर जुटाउनेचाहिँ बैंकले नै हो ।
संघीयता सफलतापूर्वक कार्यान्वयन गर्न सकेको खण्डमा गाउँ गाउँको आर्थिक समृद्धि बढ्ने, वित्तीय साक्षरता बढ्ने र यससँगै बैकिङ क्रियाकलाप बढने देखिन्छ । त्यसकारण बैंकहरूले संघीय राज्यव्यवस्थाको सहयोगमा आममान्छेमा वित्तीय पहुँच पु¥याउनसक्ने एउटा आधार अहिले बनेको छ । बैंकले आफनो दायरा फराकिला बनाउँदै लगेका छन् । बैंकले दिने सेवा सुविधा विस्तारित हँुदै गएका छन् । सुविधा बढाएर मानिसहरूलाई बैंकसम्म ल्याउने काम गरेका छन् । आफ्नो जग सम्पूर्णरूपमा बलियो बनाउँदै गएका बैंकहरूको साँच्चै नै नवीनतम् दिनहरू सुरु भएका छन् । नेपालको बैकिङ क्षेत्र साँच्चै एउटा नयाँ युग अथवा नयाँ कालखण्ड वा मोडमा उभिएको छ । आफ्नो दायित्वहरूमा बैंकहरू सदैव इमानदार हुनुपर्छ । बैंकहरूले सामाजिक उत्तरदायित्वसमेत अझै धेरै बहन गर्नुपर्छ । विगतको झैँ अत्यन्तै पारदर्शी हुँदै आफ्नो लक्ष्यमा अघि बढे नेपालको बैंक वित्तीय क्षेत्रको भविष्य उज्ज्वल छ ।



















