छोरीहरुका काँधमा पूर्वउपप्रधानमन्त्री अधिकारी– छोरीहरुले दिए संयुक्त दागबत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उनका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिएका छन् ।

शवयात्रामा तीन छोरीहरुले एकसाथ स्वर्गीय अधिकारीको शवलाई बोकेको देखियो ।

नेता अधिकारीको पार्थिव शरीरमा उनकी धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महत, डा मीनेन्द्र रिजाललगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

सोही अवसरमा सशस्त्र प्रहरी बलको एक टुकडीले उनीप्रति सम्मान गारत अर्पण गरेको थियो । नेता अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता अधिकारीको शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षका उमेरमा निधन भएको थियो ।

अधिकारीको पार्थिव शरीर आइतबार पशुपति आर्यघाट रहँदा अन्तिम श्रद्धाञ्जली दिनेक्रममा खुट्टा चुम्दै छोरी । तस्वीर : रत्न श्रेष्ठ, रासस ।