हेलिकोप्टर दुर्घटना अपडेट–सात मध्ये ६ जनाको शव भेटियो

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ६ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर ताप्लेजुङको सिस्ने खोला नजिक दारे भीरमा दुर्घटना भएको थियो ।

हेलिकोप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सात मध्ये ६ जनाको जलेको अवस्थामा शव फेला परेको घटनास्थल पुगेको प्रहरी टोलीले जनाएको छ । अहिले पनि हेलिकोप्टरमा आगो बलिरहेको र शव जलेर चिन्न नसक्ने अवस्थामा रहेको प्रहरीले बताए ।

भेटिएको शवको पहिचान हुन बाँकी छ ।

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न हेलिकप्टर चढेर काठमाडौंबाट आज बिहान ८ बजे गएको थियो ।

हेलिकप्टरमा युवराज दाहाल, आङछिरिङ शेर्पा, वीरेन्द्र श्रेष्ठ र अर्जुन घिमिरे सवार थिए । चालक प्रभाकर केसी थिए ।