हिमालय टाइम्स काठमाडौं । पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ ।
ताप्लेजुङको दारेगौंडामा एयर डाइनेस्टीको एच वान–२५हेलिकप्टर दुर्घटना भएको हो । गृह–सचिव प्रेम राईका अनुसार तेह्रथुमको राठराईको चुहानडाँडा जाँदै गरेको उक्त हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार थिए ।
काठमाडौंबाट आज बिहान ८ः ३० बजे उडेको उक्त हेलिकप्टरमा मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो ।
प्राप्त भएको जानकारी अनुसार सो हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन मन्त्रालयका विरेन्द्र श्रेष्ठ, पिएसओ अर्जुन घिमिरे, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीको कार्यालयका कर्मचारी युवराज दाहाल र विपेन्द्र प्रसाद भएको बुझिएको छ ।
ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर सम्पर्क्बिहिन रहेको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही समयअघि गाउँलेले ताप्लेजुङको दारेभीरमा ठूलो आगो लागेको जानकारी दिएपछि प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसहित प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।
सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।


















