सभापति देउवा थप २ बर्ष कार्यकाल लम्व्याउने रणनीति बनाउँदै हुनुहुन्छ : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले कार्यकाल बहुमतको दम्भमा थप दुई बर्ष थप्ने रणनीति बनाएको आरोप लगाएका छन् ।

विराटनगरमा आज सञ्चारकर्मीहरुसँग उनले भने, ‘देउवाको कार्यकाल एक बर्षमात्र बाँकी छ तर, उहाँ बहुमतको दम्भ देखाउँदै थप दुई बर्ष कार्यकाल थप्ने योजना बुन्दै हुनुहुन्छ ।’

यदि सभापति देउवाको योजना अनुसार कार्यकाल थपे कांग्रेस झन कमजोर हुने बताउँदै उनले भने, ‘कांग्रेस अहिले सांगठानिक रुपमा कमजोर भएको छ सभापतिले आफनो कार्यकाल थप गरे पार्टी झन् कमजोर हुन्छ ।’

पछिल्लो समय शेखर कोइरालाको नाम लिएर   वीरगञ्जमा देउवाले बोलेको कुरा स्मरणगर्दै उनले सबैको योगदान र रगत बगाइबाट पार्टी बनेको उल्लेख गरे । देउवाले ‘कांग्रेस कोइरालाहरुको बकौती नभएको’ भन्दै वीरगञ्जमा गरेको टिप्पणीका विषयमा उनले भने, ‘म को हुँ भन्ने मलाई हेक्का छ, म मेरो राजनीतिक संस्कार छाड्न सक्दिन बरु कोइराला परिवारको संस्कारलाई अझ बरकरार राख्छु ।

उनले भने, ‘देउवाले मेरो र कोइराला परिवारबारे जे बोल्नु भएको छ । त्यो उहाँकै राजनीतिक संस्कार होला ।’