आफ्नै कमाइमा रमाउँछन् ज्येष्ठ नागरिक

काठमाडौं । ज्येष्ठ नागरिकहरू अरुको कमाइमा भन्दा आफ्नै पसिनामा रमाउन चाहन्छन् । पछिल्लो समय अधिकांश ज्येष्ठ नागरिकहरू सीपमूलक कामले आत्मनिर्भर बन्न थालेपछि उनीहरूलाई आफ्नै पसिनामा रम्न मन परेको हो ।

विगतको तुलनामा अहिले धेरै ज्येष्ठ नागरिकहरू आफ्नै सन्तानको आश्रयमा बसेता पनि आफूसँग भएका पुराना सीप सदुपयोग गरेर बस्न थालेका छन् । केही मिठा कुरा खान पनि छोराछोरीकै आश लिएर बस्नु आफैमा दिक्क मान्छिन् बसुन्धराकी ६७ वर्षीया सुशीला गौतम । उनी सानै उमेरदेखि धर्मकर्ममा रमाउँथिन् । सुशीला बत्ती कात्न असाध्यै मन पराउँथिन् । अहिले उनी त्यही कामबाट आफ्नो आवश्यकता पूरा गर्छिन् । खान लाउन छोराले दिए पनि आफ्नो व्यक्तिगत आवश्यकता भने बत्ती कातेर बेचेकै पैसाले पूरा गर्छिन् । आफूलाई मन पर्ने परिकार र नातिनतिनालाई समेत आफ्नै कमाइबाट आएको पैसाले किन्छिन् ।

दोलखाकी ८० वर्षीया डोमा पनि अहिलेसम्म आफ्नै पसिनामा रमेको बताउँछिन् । उनले पनि आफ्नी आमाबाट कुरुस–काँटा चलाउन सिकेकी थिइन् । डोमाको बुढेसकालमा बाँच्ने आधार पनि यसै सीपबाट बनेको छ । विगत १२ वर्षदेखि आफूले कुरुस–काँटाले बुनेका लुगा बेचेर आएको पैसाले रमाउँदै आएकी उनलाई यस सीपबाट धेरै सन्तुष्टि दिलाएको छ । आफ्नै छोराले आफूलाई घरमा नराखेर वृद्धाश्रम पु¥याइदिएपछि आफूले पुरानो सीप सदुपयोग गरेर जीविकोपार्जन गर्दै आएकी हुन् ।

नरमाया सुवेदीले पनि बाल्यकालको आफ्नो कला सडकमा प्रदर्शन गरेर दृष्टिविहीन श्रीमानलाई पाल्दै आएकी छिन् । सानै उमेरदेखि गीत गाउनमा माहिर उनलाई पनि श्रीमानले त्यही गीत गाउने कला देखेर मन पराएको उनले श्रीमानबाट पछि थाहा पाएको बताउँछिन् ।

सुरिलो स्वरकी धनी उनी दृष्टिविहीन श्रीमानलाई परिवारका सदस्यहरूले गरेको अपहेलना सहन नसक्दा नौ वर्षअघि नै घरबाट निस्किएर आफ्नै सानो कोठा बहालमा लिएर बस्न थालेकी हुन् । उनको हरेक दिनको चर्या नै रत्नपार्कबाट सुरु हुन्छ । श्रीमानलाई साथमा लिएर रत्नपार्कको एउटा ‘साउन्ड बक्स’ र ‘माइक’ लिएर गीत सुनाउँछिन् । नरमाया आफ्नै कमाइमा रम्दा गर्व लागेको बताउँछिन् ।

सोलुखुम्बुकी ६४ वर्षीया सन्तमाया थापा पनि अहिले फूल बेचेर आफ्नो दिनचर्या गुजार्छिन् । ४८ वर्षकै उमेरमा श्रीमानको मृत्यु भएपछि उनी कहिले छोरासँग र कहिले छोरीसँग बस्दै आइन् । सहारा खोज्दै राजधानी छिरेकी उनले आफ्नो बल भएसम्म अर्काको बनिबुतो गरेर पेट पाल्दै आइन् । दुई वर्ष जति पशुपति क्षेत्र आसपास फूल पनि बेचिन् । फूल बेच्दाबेच्दै आफ्ना मनभित्रको पीडा साट्ने दौतरीहरू समेत बनाएकी उनले खुसी व्यक्त गरिन् ।

नेपालको कानुनले ६० वर्ष उमेर काटेका नागरिकलाई ज्येष्ठ नागरिक मानेको छ । नेपालीको औसत आयु ६९ वर्ष छ । २०६८ को जनगणना अनुसार नेपालमा २१ लाख ५४ हजार ३ जना ज्येष्ठ नागरिक छन् । राष्ट्रिय मानव अधिकार आयोग र ज्येष्ठ नागरिकहरूको अवस्थाबारे ग्लोबल एज वाचले २०१५ मा गरेको अध्ययन अनुसार नेपालमा ८५ प्रतिशत भन्दा बढी ज्येष्ठ नागरिक ग्रामीण भेगमा रहेको तथ्यांक छ ।