असंख्य पशुपति शर्माहरू

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै

हाम्रा ओठहरूमा ताल्चा झुण्ड्याउँदै

तिमी भन्छौ

गाउन त गाऊ तर यो गीत नगाऊ

हामी भने त्यही गीत गाइरहन्छौँ

–प्रतिबन्ध (कृष्णसेन इच्छुक)

‘अब गर्न छोड्दे कान्छा आदर्शको खेती

केही न केही बुझिस् होला भनेपछि यति’

जनमनमा गुञ्जिरहेको छ यतिखेर प्रतिबन्ध खेपेको पशुपति शर्माको गीत । गीतले सिंहदरबार र बालुवाटारमा आठ रेक्टर स्केलको भूकम्प ल्याइदिएको मात्र छैन, यो चिसो मौसममा सडकदेखि सदनसम्म तताएको छ । गीतले ज्यादाजसो सकारात्मक र बिरलै नकारात्मक प्रतिक्रिया पाइरहेको छ । अपलोड गरेको दुई दिनमै तीन लाखभन्दा बढी हेरिएको उक्त गीतलाई सत्तारुढ पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको ‘असहृय प्रस्तुतिका कारण करियरमा असर पर्नसक्ने कदमका निम्ति बाध्य नपारियोस्’ भन्ने धम्कीपूर्ण विज्ञप्तिपछि युट्युबबाट हटाइएको छ । यसरी हटेपछि पक्ष विपक्षमा तीव्र वहस जन्मिएको छ । सत्तारुढ दल गीतलाई आक्रमण गर्न उद्यत देखिएको छ भने प्रतिपक्षी दल यसैलाई मसला बनाएर सत्तासीनको सेखी झार्न तम्सिएको छ ।  उता पशुपति शर्मा भने बिलखबन्दमा छन् । आफ्नो नियत कसैलाई चित्त दुःखाउने नभएको बरु विकृति र विसंगतिविरुद्ध प्रहार गर्नुमात्र रहेको प्रष्टीकरण पेश गर्दैछन् उनी । आफू देशको सचेत नागरिक भएको र कलाकारसमेत रहेको नाताले विद्यमान भ्रष्टाचार, घुसखोरी र अकर्मन्यताविरुद्ध आवाज उठाउनु आफ्नो नैसर्गिक अधिकार हो भन्नेमा दृढ रहेको पनि उनले बताएका छन् ।

मूलतः गायन क्षेत्रमा आफूलाई समर्पण गरेकाहरूको अभिमत सरकारविरुद्ध परिलक्षित छ  । उनीहरूको तर्क छ– गीत गाएकै भरमा गला रेट्नु अशोभनीय हुन्छ । सुमधुर स्वर पशुपति शर्माले दिए पनि आवाज आमजनताको हो । व्यंग्य शैलीलाई अनुशरण गरिएकाले अविधामा नबुझी यसलाई लक्षणा र व्यञ्जनामा बुझिनुपर्छ । चित्त नबुझेका कुरा गीतमार्फत सार्वजनिक गर्दा यसलाई राजनीतिक रंग दिइनु सर्वथा अन्यायपूर्ण र आपत्तिजनक छ । यसैमा थप भनाइ राख्दै राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले गीत जस्ताको तस्तै सुन्न र हेर्न पाउनु दर्शक र श्रोताको अधिकार हो भनेको छ । तसर्थ उक्त गीत पुनः अपलोड गरिनुपर्ने मत राख्छ प्रतिष्ठान ।

यी यावत मागमाझ प्रधानमन्त्रीले सुदूर पश्चिममा गएर उक्त गीत जनताले मन नपराएकाले गायक स्वयम्ले युट्युबबाट हटाएको काइते तर्क गरेका छन् । कुनै बेलाको रातो घरको विम्ब बनेको माइतीघर मण्डलामा गीत घन्काउँदै नारा लागेको छ– गीत बन्द गर्ने होइन, भ्रष्टाचार बन्द होस् ।

भ्रष्टहरूको मुखै नहेर्ने कसम खाएका प्रधानमन्त्री भ्रष्टाचारकै अनुसन्धान गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको अनुहार हेर्न अभिशप्त छन्, उनका मन्त्रिमण्डलका सदस्यका बारेमा कुरै छोडौँ । अर्थहीन आक्रोश र अनावश्यक एवं अशिष्ट आलोचनाले स्वयं गायकको कद बढाउन मद्दत गरेको छ भने उनलाई सफलताको चुली चढाउने काम गरेको छ, जानअन्जान । गीतमा एउटा राजा नागार्जुन सारेर धेरैराजा सिंहदरबार छिरेका, निर्धन देशकी राष्ट्रपतिले डेढ अर्बको हेलिकप्टर चढेकी र राज्यकोषको अनावश्यक खर्च भएको, ट्राफिक बत्ती बल्दै नबल्ने गरेका, सरकारी शिक्षकले आफ्ना बालबच्चा निजी स्कुलमा पढाएका लगायतका विकृतिविरुद्ध व्यंग्यको घुँयत्रो उजाइएको छ । ‘स्वर्ग’, ‘यमराज’ र ‘कुकुर’ जस्ता शब्दलाई व्यंग्यात्मक विम्बको रूपमा प्रयोग गरिएको छ ।

नेपालजस्तो आर्थिकरूपले दुर्बल देशको हैसियत राष्ट्रपतिलाई १८ करोडको गाडी दिने र डेढ अर्बको सुपर पुमा हेलिकप्टरमा  सयर गराउने होइन भनेर गाउनु अपराध हो र ? मानौँ, यो अपराध कर्म नै हो रे । त्यस्तो अवस्थामा पनि त उनीविरुद्ध गाली बेइज्जती गरेको मुद्दा दायर गर्न जो केही स्वतन्त्र छ, कानुनी रूपमा । गायकलाई जेलको हावा खुवाउन सकिन्छ, उनले कसुर नै गरेका भए । त्यसो त सिस्नुपानी नेपालले वर्षेनी सिस्नुपानीले हानेको हान्यै छ, कार्यकारी प्रमुखदेखि उच्च ओहोदाधारीहरूलाई प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमै बोलाएर । शासकीय मनपरीतन्त्रका विरुद्ध नागरिकले निर्बाध बोल्न पाउने तन्त्रलाई नै भनिएको होइन र लोकतन्त्र ? छाडातन्त्र र दादागिरीको विपक्षमा उभिनेतन्त्रलाई लोकतन्त्र स्वीकार्ने हो भने पशुपति तिरष्कृत होइन, पुरस्कृत हुनुपर्छ । संसदमा दर्जनौं पटक वहसमा आएका, सञ्चार माध्यममा कैयन दिन छाएका विषयलाई लय दिनेले कुन कसुर गरे र लल्कार्ने उनलाई ?

कम्युनिष्टहरू सांस्कृतिक रूपान्तरणको सबैभन्दा प्रमुख अवयव नै गीत संगीत हो भन्ने स्वीकार्छन् । जनचेतना फैलाउने उन्नत मध्यम नै गायनलाई सम्झन्छन् । त्यसैकारण हुनुपर्छ दर्जनौँ चिरामा विभक्त अनेक रूप र रंगका कम्युनिष्टहरूले कुनै न कुनै नाम दिएर कलाकारलाई भ्रातृ संगठनका रूपमा समेटेका हुन्छन् । गीत, संगीत, नर्तन र अभिनयले जति सर्वसाधारणको मन जित्न सकिन्छ र आफ्ना दर्शन एवं चिन्तन प्रसार गर्न सकिन्छ, अन्य कुनै माध्यमद्वारा सकिन्न भन्ने बुझाइ छ कम्युनिष्ट घटकहरूमा ।

‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ भन्दै जनजागरणको सांगीतिक अभियान चलाउने रामेश, रायन हुन् वा रक्तीम सांस्कृतिक अभियानमा अहोरात्र समर्पित जीवन शर्माहरू वा क्षितिज, सामना, सेनचाङ सांस्कृतिक परिवारका जनता ब्युँझाउने गायन– यी सबैको उल्लेखनीय एवं अविस्मरणीय देन छ, राजनीतिक रूपान्तरणको यात्रामा । नारायणहिटीमा भूकम्प ल्याउने यी जनगीत एवं संगीतले नेपालको निरंकूशतन्त्र ढलेको यथार्थ किमार्थ भुल्न सकिँदैन । किन्तु आज तिनै मान्छेहरूले सत्ताको सोपान चढेपछि संगीतको गला रेट्ने हर्कतले स्वयं उनीहरूलाई खिसीट्यूरी गरिरहेको छ । यसर्थ पशुपति शर्मालाई धन्यवाद दिँदै आफ्ना सीमा सच्याउने यो नै सर्वोत्तम अवसर हो भनेर जति छिटो पर्गेल्छन् सत्ताधारीहरूले त्यति नै छिटो मत्थर हुनेछ यो परिघटना ।

अन्यथा एकजना पशुपति शर्मालाई लखेटेर अरू पशुपति शर्माहरू मौन ब्रत गरेर बस्ने छैनन् ।  यो राज्यमा असंख्य पशुपतिहरूको जन्म भइसकेको छ । गायक पशुपति शर्मा मौन रहे पनि करोडौं पशुपति शर्माहरूको अन्तरहृदयमा एउटा जलन छ जो अनेक रूपमा कुनै पनि बखत प्रकट हुन सक्छ । युट्युबबाट हटेको गीत सामाजिक सञ्जालका अनेक माध्यममा छन् र अझ बेसी जनताको मन मुटुमा छ । के सत्ताधारीका युवाहरूले मन मुटुबाट मेट्न सक्छन् पशुपति शर्माको गीत ?

‘मलाई हङकङ पनि यही, मलाई अमेरिका यही’ भनेर गायन गरी युवा प्रतिभा पलायन निरुत्साहन गर्ने अभियन्ता यिनै पशुपति होइनन् ? कम्युनिष्ट दर्शन र चिन्तन समाप्त पार्ने दुराशयबाट निर्देशित हुँदै युरोपियन युनियनले जातीय विभाजनको बिउ रोपिरहेका बेला ‘के हो बाहुन ? के हो क्षेत्री ? के हो जनजाति  ? जातका कुरा गर्नेहरू देशका लागि घाती’’ भनेर नेताहरूलाई खबरदारी गर्ने यिनै पशुपति होइनन् ? काम सानो ठूलो हुन्न भनेर ‘पानीपुरी’ गाउने पशुपति शर्मा यिनै होइनन् ? यी तमाम गीतहरू बिर्सेर आफ्नो खातिरदारी गरिदेओस् भनेर कुनै अमूक दलले अपेक्षा गर्नु सर्वथा बेतुकको कुरा हो ।

तसर्थ, यो उनी  विचलित बन्दै गएको घडीमा प्रत्येक न्यायप्रेमीले हातमा हात र साथमा साथ दिनु जरुरी छ । र, स्थापित गराउनु छ शासकको मनपरीतन्त्रलाई ल्याप्चे लगाइदिनु लोकतन्त्र होइन । आलोचनात्मक चेतको अवसान भयो भने जिउँदो–जाग्दो भन्ने कुरा केही बाँकी रहने छैन । अहिले पशुपति शर्मा प्रतिबन्धित भएकोमा खुशी मनाउनेहरू कुनै दिन आफैँ निषेधमा पर्नेछन् जतिबेला तिनलाई सघाउने र हारगुहार दिने कोही बाँकी रहने छैन ।

जनाधिकारहरू एकपछि अर्को गर्दै कटौती हुँदै जानु लोकतन्त्रका निम्ति शुभलक्षण हुनै सक्दैन । आज पशुपति शर्मालाई संरक्षण गर्न अल्छी गर्नेहरू, हिचकिचाउनेहरू र काखी ठोक्नेहरूको भविष्य चुक घोप्ट्याएसरि अन्धकारमय हुँदैछ भनेर मनन गर्नु आवश्यक छ । अन्यथा कुनै पशुपतिनाथले बचाउने छैनन् तिनलाई अप्ठ्यारो पर्दाखेरि । पाडो खाने बाघले बाछो छाडेको इतिहास यो संसारमा कहीँकतै पढ्न पाइँदैन ।