‘अनमोलसँग प्रतिस्पर्धा होइन्’

काठमाडौं । यही फागुन १७ गतेबाट दुई चलचित्र ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ प्रदर्शनमा आउँदैछन् । ‘क्याप्टेन’मा चकलेटी नायक अनमोल केसी छन् भने ‘द ब्रेकअप’मा अर्का चकलेटी नायक आशिरमान देशराज जोशी छन् ।

अनमोल पछिल्लो समयका युवा स्टार हुन् । उनले अभिनय गरेका सबै चलचित्र सफल छन् भने आशिरमानको फ्यान फ्लोअर्स अनमोलको दाजोमा कम भए पनि धेरै छन् । उनी नायक आयुष्मान देशराज जोशीको भाइ हुन् । उनै आशिरमान र अनमोलको चलचित्र एकै मितिमा प्रदर्शन हुँदै चकलेटी नायकहरूको चलचित्र हेरिरहने दर्शक बाँडिने भएका छन् । आशिरमानले आफ्नो चलचित्रमा युवा दर्शक अवस्य आउने दाबी गर्छन् । उनले ‘द ब्रेकअप’मा आफूलगायत सबै कलाकारको काम, कथा र मेकिङको आधारमा दर्शकले चलचित्र मन पराउने विश्वास राखे ।

बुधबार बालुवाटारमा आयोजिक पत्रकार भेटघाट कार्यक्रममा आशिरमानले आफ्नो प्रतिस्पर्धा अनमोलसँग नभएको पनि जानकारी दिए । ‘एकै मितिमा तपार्इंहरू दुई नायकको चलचित्र आउँदैछ, प्रतिस्पर्धा त होनि ?’ भन्ने प्रश्नमा आशिरमान भन्छन्, ‘मेरो अनमोलसँग प्रतिस्पर्धा होइन, दुवै चलचित्र दर्शकले हेर्नुहुनेछ, एउटै मितिमा प्रदर्शन हुनु संयोग हो, प्रदर्शनका लागि अन्य मिति खाली नभएकाले पनि हामीले फागुन १७ लाई नै रोजेका हौं ।’

अनमोलसँग कत्तिको बोलचाल र भेटघाट हुन्छ त भन्ने पत्रकारहरूको जिज्ञासामा आशिरमानले साधारण गफ हुने बताए । ‘कुनै कार्यक्रममा भेट भयो भने हो, नत्र यतिकै भेटेको छैन, फोन पनि काम पर्दामात्र हुन्छ, सम्बन्ध राम्रो छ ।’ आशिरमानले प्रेमकथाको चलचित्र हेर्न चाहाने दर्शकका लागि ‘द ब्रेकअप’ विशेष रहेको जानकारी दिए ।

‘द ब्रेकअप’ निर्देशक हेमराज बिसीले पनि आफ्नो चलचित्र कुनै पनि चलचित्रसँग प्रतिस्पर्धामा आएको भन्ने कुरालाई खण्डन गर्छन् । उनले आफ्नो चलचित्र पुस महिनामै आउने निधो भइरहँदा प्रोष्ट प्रोडक्सनको काम नसकिएकाले सार्नुपरेको बताए । यस्तै १७ गतेलाई नै किन पारियो भन्ने प्रश्नमा भन्छन्, ‘पुसभन्दा पछाडिको मितिमा कुनै पनि साता दुई वा दुईभन्दा चलचित्र रिलिज भइरहेका छन् । अहिले नेपालमा एक्लो प्रदर्शन गर्छु भन्ने अवस्था छैन, यति धेरै चलचित्र बनिरहेका छन् कि कुनै न कुनै चलचित्रसँग जुध्न, यसलाई प्रतिस्पर्धा भन्ने मिल्दैन ।’

‘द ब्रेकअप’मा आशिरमानसँगै शिल्पा मास्के र इच्छा कार्कीको मुख्य भूमिका छ । सार्वजनिक भइसकेको ट्रेलरमा आशिरमान र शिल्पाको प्रेम देखाइएको छ भने ट्रेलरमा इच्छाको भूमिका सस्पेन्स राखिएको छ । ट्रेलरमा देखिएको आशिरमान र शिल्पाको ‘किस सिन’ले पनि चर्चा पाइरहेको छ । चलचित्र रूपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्तरूपमा निर्माण गरेका हुन् । चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन् ।