काठमाडौं । नेपाली कांग्रेसको ‘तेस्रो धार’ निकट विद्यार्थीहरूले पार्टी नेतृत्वसँग विधानमा गरिएको प्रावधान अनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समिति गठन गर्न माग गरेको छ । नेविसंघको विघटित कार्यसमितिका महामन्त्री कुन्दनराज काफ्ले निकट विद्यार्थी नेताहरूले बुधबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर नेविसंघको तदर्थ समिति ३२ वर्षमुनि उमेरको ल्याउन माग गरेका हुन् ।
नेविसंघको संशोधित विधानमा १२ औं महाधिवेशनबाट लागु हुने गरी ३२ वर्षीय उमेरहद लगाइएको छ । पार्टीले नेविसंघमा उमेरहद लागु गर्दा काफ्ले समूहले आपत्ति जनाएका थियो । ‘तेस्रो धार’ को नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा ‘नोट अफ डिसेन्ट’ समेत लेखेका थिए ।
काफ्ले समूहले सभापति देउवालाई उनकै निवास बुढानिलकण्ठमा भेटेर ३२ वर्षमुनिबाट तदर्थ समिति गठन गर्न र स्ववियु सभापति तथा एकाइ अध्यक्ष स्वतः केन्द्रीय प्रतिनिधि हुने व्यवस्था गरिदिन आग्रह गरेका छन् । कांग्रेसले नेविसंघको संशोधित विधानमा स्ववियु सभापति र एकाइ अध्यक्ष केन्द्रीय प्रतिनिधि हुन नपाउने व्यवस्था गरेको छ ।
देउवासँगको छोटो भेटमा विद्यार्थी नेताहरूले ३२ वर्षीय उमेरहद लागु नगरी तदर्थ समिति गठन गरिए समानान्तर समिति गठन गरिनेसम्मको चेतावनी दिएको बताएका छन् । जवाफमा सभापति देउवाले आफूले सबै कुरा बुझेको भन्दै ठोस प्रतिक्रिया नदिएको निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले बताए ।
काफ्ले समूहले बुधबार नै वरिष्ठ नेता पौडेलसँग भेट गरेर ३२ वर्षमुनिकै विद्यार्थीहरू समावेश गरेर नेविसंघको तदर्थ समिति गठनका लागि पार्टीमा पहल गरिदिन आग्रह गरेका छन् । जवाफमा उनले सभापति देउवाले अहिलेसम्म नेविसंघका बारेमा औपचारिक रूपमा कुनै छलफल नगरेको र केन्द्रीय कार्यसमितिमा पनि विषय प्रवेश नभएको बताए । उनले नेविसंघको विषयमा केन्द्रीय कार्यसमितिमा छलफल सुरु भए विद्यार्थीको भावनाअनुरूप कुरा राख्ने वचन दिएको विद्यार्थी नेताहरूले बताएका छन् ।
उनीहरूले बुधबार नै कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीलाई भेटेर सभापति देउवा र वरिष्ठ नेता पौडेलसँग राखिएको माग दोहो¥याएका छन् । विद्यार्थी नेताहरूले पौडेल र केसीलाई आफूहरूको मागविपरीत तदर्थ समिति गठन भए समानान्तर समिति गठन गर्ने र समानान्तर समिति गठनका लागि आयोजना हुने भेलामा अतिथिका रूपमा उपस्थित भइदिन पनि आग्रह गरेका छन् ।


















