भुकम्पले भत्काएका प्राचीन मूर्ति संरक्षणका लागि तालीम

भरतपुर । प्राचीन मूर्ति संरक्षणका लागि भरतपुरमा आजदेखि तालीम सञ्चालन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति ललितपुरले १५ दिने तालीम सञ्चालन गरेको हो ।

भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा बौद्ध धर्म सेवा समितिको कार्यालयमा सञ्चालन हुने तालीममा जिल्लाका १७ जनाको सहभागिता छ । जिल्लाका विभिन्न गुम्बाहरुबाट प्रतिनिधित्व रहने गरी आवासीय सुविधासहित उनीहरुलाई तालीमको व्यवस्था गरिएको छ ।

बौद्ध धर्म सेवा समिति चितवनका प्रमुख सल्लाहाकार देवेन्द्र गुरुङले स्थानीय कलाकारहरु उत्पादन गर्ने उद्देश्यका साथ तालीम सञ्चालन गरिएको बताए । “चितवन नयाँ बस्ती भएका कारण धेरै प्राचीन मूर्ति छैनन्”, गुरुङले भने, “नयाँ पुस्तालाई प्राचीन सभ्यता र कला सिकाउनका लागि पनि तालीम सञ्चालन गरिएको हो ।” मूर्तिको सामान्य मर्मतका लागि पनि बाहिरबाट मान्छे ल्याउनुपर्ने बाध्यता तालीमपश्चात् हट्ने उहाँको विश्वास छ । तालीममा सहभागीलाई माटोको मूर्ति बनाउन सिकाइनेछ ।

संस्कृतिको संरक्षण तथा सीप सिकेर पेशाका रुपमा अगाडि बढाउन टेवा पु¥याउने उद्देश्यले तालीमको आयोजना गरिएको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले बताए । उनले भूकम्प प्रभावित जिल्लालाई लक्षित गरेर तालीम सञ्चालन गरिएको जानकारी दिए । “भूकम्पले एक हजार ३२० गुम्बामा क्षति पुगेको छ”, उनले भने, “तर क्षति पुगेका गुम्बाको मूर्ति निर्माण गर्ने दक्ष जनशक्तिको अभाव छ ।” तालीम लिनेहरुले टुटफुट भएको मूर्ति मर्मत र नयाँसमेत बनाउन सक्षम हुने उनको भनाइ छ ।

समितिले तालीम दिएका २५ प्रतिशतले व्यावसायिक रुपमा मूर्ति बनाउने पेशा अवलम्बन गरिरहेको गुरुङले बताए । तालीममा मुख्य प्रशिक्षकका रुपमा चन्द्र छेवाङ लामा रहेका छन् । चितवनमा करीब ८२ वटा गुम्बा रहेको बौद्ध धर्म सेवा समितिले जानकारी दिएको छ ।