भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक

काराकास । भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टी गरका छन् ।

दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई ओटा बैठक भइसकेको उनले शनिबार जानकारी दिएका हुन् ।

“हामीले दुई ओटा बैठक सम्पन्न गरिसकेको साँचो हो, तर त्यसका बारेमा मैले सबै विवरण दिन सक्दिनँ, मैले गोपनीयताको ख्याल गर्नु पर्दछ,” उनले भने ।

भेनेजुएलाको राज्यद्वारा सञ्चालित टेलिभिजनमा बोल्दै उहाँले एक अर्कालाई राम्रोसँग चिन्नेगरी र विषयवस्तुलाई बुझ्नेगरी छलफल गरेको बताए ।

उनले थपे, “बैठकमा विवादका कुराहरु भए, अरु गहिरो मतभिन्नताका कुरा भए, सँगसगै आपसी चासोका बारेमा पनि एक अर्कालाई बतायौँ ।”

उनले यी बैठकहरुबाट सकारात्मक नतिजा आउने विश्वास गरिएको पनि जानकारी दिए ।

भेनेजुएला र अमेरिकाको विषयमा हुने छलफललाई निरन्तरता दिन र संस्थागत गर्नका लागि एउटा साझा निकाय बनाउने बारेमा पनि छलफल भएको भेनेजुएलाका विदेश मन्त्रीले उल्लेख गरे ।

अमेरिकी उच्चस्तरीय प्रतिनिधि र भेनेजुएलाका प्रतिनिधिहरुको दुई पक्षीय बैठकका बारेमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पुरै जानकारी भएको पनि विदेश मन्त्रीले बताए । सिन्ह्वा