प्लास्टिक र प्लास्टिकद्वारा निर्मित सामग्री हाम्रो दैनिक जीवनको अभिन्न अंग भइसकेको छ । पहिले पहिले घर, पसल र कार्यालयहरूमा प्रयोग हुने भाँडावर्तन प्रायः ताँमा वा पित्तलबाट बनेका हुन्थे । अहिले ती सामानको स्थान प्लास्टिक वा स्टिलका सामानले लिन थालेका छन् । त्यसमा पनि पहिलो नम्बरमा प्लास्टिकका सामग्री नै पर्छन् ।
बिहानदेखि बेलुकासम्म हामी कुनै न कुनै रूपमा प्लास्टिक र प्लास्टिककै सामान प्रयोग गरिरहेकै हुन्छौँ । बिहान दाँत माभ्mदा प्रयोग हुने टुथब्रश, चप्पल, साबुनको डिब्बा, काँइयो, जग, बकेट, पानीको कण्टेनर अनि चिया नास्ताको लागि प्रयोग हुने दूधको प्याकेट तथा अन्य खाद्य पदार्थहरू जस्तै ः तेल, नुन, घिउ, दाल आदि राखेका प्याकेट सबै प्लास्टिकै हुन्छन् ।
त्यसमा पनि अधुनिक घरमा त रंगरोगनदेखि लिएर कार्पेट, बिजुलीका तारहरूदेखि बिजुली, बत्तीका सामान, सञ्चार सामग्र्री जस्तै टिभी, रेडियो, टेलिफोन, कम्प्युटरलगायत अन्य सबै प्रकारका इलेक्ट्रोनिक्स समान प्लास्टिकबाटै बनेका हुन्छन् ।
यसरी सामान्य घरायसी प्रयोजनदेखि लिएर ठूल्ठूला उद्योग, व्यापार, सञ्चार, यातायात, स्वास्थ्य आदि हरक्षेत्रमा आज प्लास्टिक र प्लास्टिकका सामानले प्रभुत्व जमाएको पाइन्छ । यस्ता प्लास्टिकका सामग्रीको प्रयोजन बढ्दै जानुको मूल कारण के हो भने यिनीहरू सबै ठाउँमा सहजै उपलब्ध हुनसक्ने, उत्पादन र प्रयोगमा सजिलो साथै तुलनात्मक रूपले मूल्यमा पनि सस्तो पर्छ ।
यिनै कारणले गर्दा विश्वका सबैजसो मुलुकमा अहिले यसको उत्पादन र प्रयोग वर्षेनी बढ्दो छ । प्रयोगमा विविधीकरण बढ्दो छ । प्लास्टिक वर्षेनी अकल्पनीय परिमाणमा उत्पादन भइरहको छ । अझ अस्टे«लियाको मेलबर्नस्थित मोनास विश्वविद्यालयका प्राध्यापक राइस कोन्सले त आगामी वर्षमा यस्ता प्लास्टिकबाट ठूल्ठूला भवन, जहाज, मोटरकार, पुल, वायुयान बनाउनसमेत पलास्टिकको प्रयोग हुने बताएको छ ।
यति गुणयुक्त एवं उपयोगीसिद्ध भएर यस्ता प्लास्टिक र प्लास्टिकका सामग्री उत्पादनदेखि उपभोगको अवस्थासम्म वातवरणीय प्रदूषणको प्रमुख कारण पनि बन्न पुग्दछन् । विभिन्न कार्बनयुक्त रासायनिक पदार्थ सम्मिश्रण हुनाले यसको उत्पादन समयमा निस्कने ग्यासले वरपरको वातावरणमा प्रतिकूल असर पु¥याउने कुरा विशेषज्ञ बताउँछन् । खासगरी पिविसी पोलिकार्बोनोट, बैकेलाइट आदिजस्ता प्लास्टिक उत्पादनको समयमा विभिन्न विषालु रासायनिक तŒव जस्तै ः फोर्मोहिडाइसाइड, फोसजिन आदि प्रयोग हुने गर्छन् । जुन रासायनिक तŒव क्यान्सर, छाला र श्वाससम्बन्धी रोगको प्रमुख कारक मानिएको छ ।
प्लास्टिक र प्लास्टिकजन्य सामग्री अत्यधिक मात्रामा प्रयोग हुने र यो हावा, पानी र माटोमा समेत कुहिएर नष्ट नहुने भएको हुँदा प्लास्टिकको फोहर वा डंगुर जताजतै थुप्रिएर रहेको पाइन्छ । यसबाट वरपरको वातावरणमा प्रतिकूल असर पुग्नुका साथै जमिनको उर्वरा शक्तिसमेत घट्ने बताइन्छ । विशेषज्ञका अनुसार पानीमा लामो समयसम्म प्लास्टिक जम्मा हुन पुगेमा त्यहाँ रहेका वनस्पति र जीवजन्तु नष्ट हुन पुग्छन् ।
प्लास्टिकबाट बढी प्रदूषण ल्याण्डफिलमा जम्मा गर्दा हुनेगर्छ । खासगरी प्लास्टिक लामो समयसम्म स्थिर रहने भएको हुँदा सूर्यको प्रकाशको अभावमा यसबाट वातावरणमा दीर्घकालीन असर पर्न जान्छ । विशेषगरी प्लास्टिकबाट फोमजस्ता वस्तु बनाउँदा ट्राइक्लोरोइथेन, एसिटिन, टाउलिन र बेन्जिनजस्ता विषालु रसायन निस्कन्छन् । त्यस्तै प्लास्टिक बनाउँदा हावाको सम्पर्कमा बिलाउने किसिमका जैविक वस्तुको अलावा सल्फर अक्साइड, नाइट्स अक्साइट, मिथानोल र इथाइलिन अक्साइडजस्ता ग्यास निस्कने गर्छन् ।
प्लास्टिक उत्पादनका क्रममा निस्कने यस्ता ग्यासले वायु प्रदूषण बढाउन अत्यधिक मद्दत पु¥याउने कुरा विज्ञले बताएका छन् । अर्को कुरा, प्लास्टिकका सामानमा क्लोरिन मिसिएको हुन्छ । जस्तो पिभिसी अर्थात् पोलिविनाइल क्लोराइडमा क्लोरिन नै मिसिएको त हुँदैन तर उत्पादनको क्रममा यस्तो क्लोरिन मिसिने सम्भावना रहेको हुन्छ । यस्तो क्लोरिनयुक्त प्लास्टिकअन्तर्गत पोलिक्लोनिरेटेड वाइफिनाइल, क्लोरोल्फोरो कार्वन र डिडिटी जस्ता अर्गानोक्लोराइड पर्छन् । यसबाट डिडिटीजस्तो उत्पादनमा प्रतिबन्ध लागिसकेको खतरनाक पदार्थसमेत यस्ता प्लास्टिकको उत्पादन र उपभोगका क्रममा हाम्रो वरपरको वातावरणमा रहिरहन्छ ।
निश्चय पनि प्लास्टिकका झोला एवं सामान बोक्न सजिलो, हलुका र तुलनात्मकरूपमा सस्तो पर्ने भएको हुँदा यस्ता प्लास्टिक र प्लास्टिकजन्य वस्तुको उत्पादन र उपभोग अत्यधिकरूपमा भइरहेको छ । तर, सजिलो छ भन्दैमा यसबाट मानवस्वास्थ्य र वातावरणमा पुग्ने असरप्रति भने बेवास्ता गरेर बस्न मिल्दैन ।
प्लास्टिकको अत्यधिक प्रयोजनबाट हुने हानिकारक असरलाई ध्यानमा राखेर विकसित मुलुकमा यसको निराकरणतर्फ गम्भीर चासो लिन थालिसकिएको छ । तर, नेपालजस्ता विकासोन्मुख मुलुकमा खासै चासो राखेको पाइँदैन ।
त्यसो त नेपालमा २० माइक्रोनभन्दा कम वजनका प्लास्टिक झोला उत्पादन गर्न नपाउने व्यवस्था सरकारले यसअघि नै गरिसकेको छ तर सरकारको यो निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन सकिरहेको देखिँदैन । मूल कुरा हामीले यस्ता वस्तुबाट सुविधा लिँदा यसबाट उत्पन्न हुनसक्ने वातावरणीय प्रदूषण र स्वास्थ्यसम्बन्धी समस्या रोक्ने उपायतर्फ ध्यान आवश्यक छ । यदि प्लास्टिकका सामग्रीहरूको अत्यधिक प्रयोजनबाट उपलब्ध सेवा सुविधाभन्दा मानव स्वास्थ्य र पर्यावरणीय दृष्टिकोणले हानी अथवा नोक्सानी बढी देखिन्छ । तसर्थ अब यसको विकल्प खोज्नेतर्फ ध्यान दिनैपर्ने हुन्छ ।
तर, उपभोक्ताले सहज र सरलरूपमा उपभोग गर्दै आइरहेका यस्ता सामग्रीको भरपर्दो विकल्प नदिइकन हचुवाको भरमा उत्पादन र उपभोगमा रोक लगाउँदा यो व्यावहारिक नहुनसक्छ । यसबाट हाम्रोजस्तो निम्न र मध्यमस्तरीय आय भएका उपभोक्ताको दैनिक गतिविधिमा प्रतिकूल असर पर्नसक्छ । यस्ता संवेदनशील कुरामा ध्यानै नदिइकन एक पक्षीयरूपमा उत्पादन र उपभोगमा रोक लगाउँदा त्यसको व्यावहारिक कमजोरी हुनसक्छ । त्यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्ने हुन्छ ।



















