नेविसंघ तदर्थ समितिमा ३२ वर्षे हदबन्दी माग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान महामन्त्री कुन्दनराज काप्mले निकट विद्यार्थी नेताहरूले पार्टी नेतृत्वलाई ३२ वर्ष मुनिको सदस्यहरूको तदर्थ समिति गठन गर्न माग गरेका छन् । बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेताहरूलाई उनीहरूले नेविसंघको आगामी कार्यसमितिमा ३२ वर्षमुनिका विद्यार्थी समेट्न माग गरेका हुन् ।
निवर्तमान केन्द्रीय सदस्यहरू सुशील भट्ट, पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा, निरञ्जन थापा, उमेश थापामगर, नवराज त्रिपाठीलगायतका विद्यार्थीहरूले सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा, प्रदीप पौडेल, बहादुरसिंह लामालाई पार्टी कार्यालयको मूल प्रवेशद्वारमा रोकेर यस्तो आग्रह गरे ।
‘पार्टीले नेविसंघको विधानमा ३२ वर्ष कायम गरेको र विधान उल्लंघन हुने आशंका बढेपछि केन्द्रीय कार्यसमितिको मिटिङमा प्रवेश गर्ने क्रममा नेताज्यूहरूलाई पार्टी कार्यालयको मुख्य ढोकामा रोकेर विधान अनुसार नै तदर्थ समिति गठन गर्न आग्रह गरेका हौं,’ विद्यार्थी नेता थापाले भने ।
विद्यार्थीहरूले मंगलबार पनि सभापति देउवा, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई मूल प्रवेशद्वारमा रोकेर ३२ वर्षमुनिकालाई राखेर तदर्थ समिति ल्याउन माग गरेका थिए ।
उनीहरूले पार्टीका नेताहरूलाई विधानमा भएको व्यवस्था विपरीत ३२ वर्षमाथिको उमेरका व्यक्तिको नेतृत्वमा तदर्थ समिति गठन गरिए समानान्तर कमिटी गठन गर्नेसमेत चेतावनी दिएका छन् । कांग्रेसले आगामी महाधिवेशनबाट लागु हुने गरी नेविसंघमा ३२ वर्षीय उमेर हदबन्दी लागु गरेर विधान पारित गरेको छ ।