समूह विजेता बन्ने काठमाडौंको लक्ष्य

काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)मा लगातार दुई जितपछि साविकको उपविजेता काठमाडौं गोल्डेन्सले समूह विजेता बन्दै प्लेअफमा प्रवेश गर्ने लक्ष्य बनाएको छ ।
फाप्ला क्रिकेट मैदानमा बुधबार बिहान भएको आफ्नो दोस्रो खेलमा काठमाडौंले महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गरेको थियो । त्यसअघि पहिलो खेलमा काठमाडौंले घरेलु टोली धनगढीलाई पराजित गरेको थियो ।
‘लगातार दुई खेल जितेपछि सबैको लक्ष्य समूह विजेता बन्ने लक्ष्य हुन्छ,’ काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘तर, गेम र कन्डिसन दुवै चुनौतीपूर्ण छ । दुवैलाई जित्न सक्यौं भने अवश्य शीर्षमा रहँदै अघिल्लो चरण तय गर्नेछौं ।’
भारतीय खेलाडी अंकित दबासले अलराउण्ड प्रदर्शन गरेपछि अर्को दाबेदार टोली महेन्द्रनगरलाई काठमाडौंले दोस्रो हार चखाएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले अंकितको ६५ रनको मद्दतमा निर्धारित २० ओभरमा १ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । ५५ बल खेलेका अंकितले कन्डिसनअनुसार प्रस्तुत हँुदै ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।
छैटौं विकेटका लागि उनले योगेन्द्रसिंह कार्कीसँग ७६ रनको साझेदारी गरेका थिए । योगन्द्र २२ रनमा अंकितसँगै नटआउट रहे । १४ बल खेलेका योगेन्द्रले १ चौका र १ छक्का प्रहार गरे । यस्तै काठमाडौंका लागि ज्ञानेन्द्र मल्लले १४ र मेहबुब आलामले १३ रन जोडेका थिए ।
मेहन्द्रनगरका अमरसिंह रौटेलाले २ विकेट लिए । यस्तै मोहम्मद नाभिद, अविनाश बोहरा र सागर ढकालले समान १–१ विकेट लिएका थिए । कप्तान शरद भेषावकरले ३ ओभरमा १ ओभर मेडन राख्दै ६ रनमात्रै खर्चेर उत्कृष्ट बलिङ गरेका थिए ।
जवाफमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर महेन्द्रनगरले १ सय २७ रनमात्रै बनाउनसक्यो । उसका कुनैपनि ब्याट्सम्यान धेरैबेर क्रिजमा टिक्न सकेनन् । अमरसिंह रौटेलाले २८, शरद भेषावकरले २३, आरिफ सेखले १८ र सुब्रमन्यन आनन्दले १५ रन जोडेका थिए ।
महेन्द्रनगरले सुरुवाती दुई ओभरमा नै आफ्ना दुवै ओपनरलाई गुमाएको थियो । मोहम्मद नाभिदलाई पहिलो ओभरमा नै नन्दनकुमार यादवले खाता नै खोल्न नदिई बोल्ड पारेका थिए । यस्तै दीलिप नाथलाई रासिद खानले १ रनमै एलबिडब्लुको सिकार बनाए ।
मध्यक्रममा शरद भेषावकरले आरिफ सेखसँग २५ तथा सुब्रमन्युमसँग ३१ रनको साझेदारी गर्दै पारीलाई अघि बढाएका थिए । अन्तिममा अमरसिंह रौटेलालो २७ बलमा २ चौकासहित २८ रनको पारी खेल्दै टोलीलाई १ सय २७ को स्कोरमा पु¥याएका थिए ।
काठमाडौंका रासिद खानले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १७ रनमात्रै खर्चे । यस्तै अंकित दबाबसले २ तथा योगेन्द्रसिंह कार्की, ललितनारायण राजवंशी र नन्दन यादवले एक एक विकेट लिए ।
धनगढी क्रिकेट एकेडेमीको आयोजनामा फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु १५ हजार, म्यान अफ द सिरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई पनि पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

धनगढीको प्लेअफ सम्भावना 
धनगढी । घरेलु टोली धनगढी स्टार्सले रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा लगातार तेस्रो हार व्यहोरेको छ । तेस्रो हार व्यहोर्ने क्रममा बुधबार घरेलु टोली विराटनगर किंग्ससँग २१ रनले पराजित भयो । योसँगै धनगढीको प्लेअफ संभावना कठिन बनेको छ ।
तीन खेलमा पराजयपछि टोली पुछारमा छ । समूह चरणमा शीर्ष चारमा रहने टोलीहरू दोस्रो स्थानमा प्रवेश गर्नेछन् । बाँकी दुई खेलमा राम्रो रनरेटका साथ जित हात पार्न सकेमा धनगढीको प्लेअफ सम्भावना जिवित रहनेछ ।
आफूहरूले लय नै नपाएका कारण प्रतियोगितामा लगातार हार व्योहोर्नु परिरहेको कप्तान सोमपाल कामीले बताए । बाँकी खेलमा सक्दो राम्रो खेल्दै प्लेअफमा पुग्ने सम्भावना जीवित राख्ने सोमपालले बताए ।
यसअघि धनगढी काठमाडौं गोल्डेन्स र सिवाइसी अत्तरियासँग पराजित भएको थियो । विराटनगरले दिएको १ सय ४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको धनगढी ६ बल बाँकी छँदै ८२ रनमा समेटियो ।
उसका सन्दीप रिजालीले ३४ र राजु रिजालले १५ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेन् । करण केसी र अभिनाश यादवले उत्कृष्ट बलिङ गरेपछि विराटनगरले पहिलो जित हात पारेको हो । करणले ४ ओभरको स्पेलमा २४ रन खर्चदै ४ विकेट लिए । यस्तै अभिनाशले ४ ओभरको स्पेलमा १० रन खर्चेर ४ विकेट लिएका थिए ।
त्यसअघि फाप्ला क्रिकेट मैदानमा बुधबार दिउँसो भएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो ।
उसका भारतीय खेलाडी अविनाश यादवले सर्वाधिक २७ रन जोडे । २९ खेलेका उनले २ चौका प्रहार गरे । यस्तै कप्तान करण केसीले २१ रन, आसिफ सेखले १२ र संम्साद शेखले ११ बाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन् ।
सोमपाल कामी र विपिन खत्रीले विराटनगरको सुरुवात राम्रो हुन दिएनन् । दुवैले ३–३ विकेट बाड्ने क्रममा विराटनगरका सुरुवाती ६ विकेट लिएका थिए । पहिलो ओभरमा नै सोमपालले हरिशंकर शाह(२)लाई विकेट किपर राजु रिजालको हातबाट क्याच गराए ।
तेस्रो ओभरमा विपिनले अर्का ओपनर आसिफ शेख(१२)लाई पवन सर्राफबाट क्याच गराए । यस्तै तेस्रो नम्बरका ब्याट्सम्यान कुशल भुर्तेल(६) र चौथो नम्बरका भारतीय ब्याट्सम्यान असिद पठान(३)लाई सोमपालले पवेलियन फर्काए ।
पाँचौ नम्बरका राजेश पुलामी मगरलाई विपिनले एलबिडब्लुको धरापमा पारेका थिए भने अभिनाश यादवलाई आमिर हायातको हातबाट क्याच गराएपछि विराटनगर दबाबमा पारेको थियो ।
सोमपालले ३ ओभरमा ८ रनमात्रै खर्चे । यस्तै विपिनले चार ओभरमा १९ रन खर्चे । उनीहरूसँगै रोविन क्षेत्रीले २ तथा सुनिल धमलाले धनगढीका लागि एक विकेट लिएका थिए ।