सोल । दक्षिण कोरियाका नागरिक अधिकारकर्मीको एक समूहले मंगलबार उत्तर कोरियाको भ्रमण सुरु गरेका छन् । नयाँ वर्षको अवसरमा दुवै देशका तर्फबाट संयुक्त कार्यक्रम प्रस्तुत गर्न तथा दुई देशबीचको अन्य विषयगत आवश्यक परामर्शका लागि उत्तर कोरियाको भ्रमणमा गएका हुन् ।
मंगलबार उत्तर कोरियाको भ्रमणका लागि पुगेका सो समूहमा २५० जना सहभागी रहेका बताइएको छ । सो समूहमा श्रमसम्बन्धी संगठनका प्रतिनिधि, प्रमुख धार्मिक संघ संस्थाका प्रतिनिधि, महिला तथा किसान रहेका छन् । साथै, यस समूहमा दक्षिण कोरियाका केही सांसद, पत्रकार र सहयोगी सदस्य छन् । यस वर्ष पनि यी दुवै देशका तर्फबाट उत्तर कोरियाका संयुक्त कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ । सोही प्रयोजनका लागि विभिन्न क्षेत्र र व्यवसायका नागरिकले उत्तरको भ्रमण गरेका हुन् ।
भ्रमणका क्रममा उनीहरूले मंगलबार उक्त संयुक्त कार्यक्रमका बारेमा आवश्यक छलफल एवं परामर्श गरेका छन् । परामर्शका क्रममा उनीहरूले संयुक्त कार्यक्रम के कसरी तयारी र प्रस्तुत गर्ने भन्ने बारेमा छलफल गरेका छन् ।
उक्त समूहका सदस्यले आ–आफ्नो क्षेत्रका उत्तर कोरियाली विभिन्न व्यक्ति तथा पदाधिकारीसँग भेटवार्ता गरेका छन् । उनीहरूले त्यहाँका नेतासँग शिष्टाचार भेट गरेका छन् । दुवै देशको संयुक्त सदस्यसँग विभिन्न क्षेत्रको दृश्यावलोकनका साथै अन्य कार्यक्रम गरेका छन् ।


















