सारिकाको २० औं बिहे !

काठमाडौं । नेपाली म्युजिक भिडियोको क्षेत्रमा तीनसय बढी भिडियोमा अभिनय गरेकी सारिका केसीले भिडियोका लागि २०औँ पटक विवाह गरेको बताएकी छन् । विशेषगरी नेपाली लोकदोहोरी क्षेत्रका पञ्जेबाजा र गीतमा आफू बेहुली बनेको उनले बताइन् । ‘मैले सयौं गीतमा मोडलिङ गर्ने अवसर पाएकी छु । जसमध्ये २० वटा भिडियोमा बेहुली बनेकी छु ।   सारिकाले गत बिहीबार २०औं विवाहको अनुभव लिँदै हिमालय टाइम्ससँग यस्तो बताएकी हुन् । उनले सुरुका केही विवाहमा निकै अप्ठ्यारो महसुस भएको बताइन् । ‘सुरुवातका दिनमा निकै अप्ठ्यारो लाग्नेगथ्र्यो, घुम्टो ओड्ने, सिन्दुर लगाउनेजस्ता कुरा साह्रै गाह्रो विषय थियो,’ सारिकाले भनिन् । पछि सबै अभिनय त हो भन्ने लागेको उनी बताउँछिन् । ‘यो पनि एक काम हो भन्ने लाग्छ, त्यसैले आजभोलि सुरुवातका दिनमा जस्तो अप्ठ्यारो लाग्दैन,’ सारिकाले भनिन् । विवाहमा सिन्दुर लगाउँदा नक्कली श्रीमान्ले आफ्नै हातबाट लगाइने गरेको पनि पाइयो, असहज महसुस कत्तिको हुन्छ भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन् ‘सबैभन्दा असहज हुने नै सिन्दुर लगाउँदा हो, सुरुवातमा केतिपय भिडियोमा नक्कली श्रीमान्को हात सिउदोसम्म पु¥याउने र सुटिङका अन्य दिदीले सिन्दुर लगाइदिने पनि गरियो, तर त्यो एक रातो अबिर भएकाले त्यस्तो पूरै सिन्दुर नै लाग्यो, बर्बादै भयो भन्ने लाग्दैन ।’

भिडियोका लागि भएपनि बीस पटक विवाह गर्नुभयो, भिडियोका कतिजति श्रीमालाई याद गर्न सक्नुहुन्छ भन्ने प्रश्नमा उनले सबैलाई याद गर्न गर्न पनि नहुने बताउँछिन् । ‘कतिपय कलाकारसँग काम दोहोरियो भने याद हुने हो जतिसँग काम गरियो सबैको याद हुँदैन । नाम लिँदा पुस्कल शर्मा, बिमल अधिकारीलगायतका मोडलअगाडि आउनुहुन्छ, किनकि उहाँहरूसँग म्युजिक भिडियोको काम दोहोरिरहन्छ,’ सारिकाले भनिन् । उनले रिलका लागि थुप्रै विवाह गरेपनि रियल विवाहको अनुभव भने नभएको बताइन् ।

भक्तपुरस्थित निर्देशक शंकर बिसीको फिल्मी सुटिङ स्टुडियोमा अर्जुन गिरीकी बेहुली बनेकी थिइन् उनी । गायक चन्द्र शर्मा र अमृता श्रीपालीको स्वरमा रहेको पञ्चेबाजा गीतका लागि उनी बेहुली बनेकी हुन् । जुन भिडियो शंकर बिसीले निर्देशन गरेका थिए ।