काठमाडौं । गायक राजेशपायल राई राजधानीको नक्सालस्थित एक रेकर्डिङ स्टुडियोमा बिहान एघारबजे गीत रेकर्डका लागि छिरे । सोहीदिन दुई रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड रहेकाले पहिलो स्टुडियोमा दिउँसो तीन बजेसम्म र साँझको बाँकी समय नक्सालमै रहेको अर्को रेकर्डिङ स्टुडियोका लागि छुट्टाएका थिए ।
राजेशले आफ्नो सांगितीक दुनियाँमा लामो समय बिताउँदै गर्दा थुप्रै फ्यानलाई भेटेका छन् । उनले तस्वीर खिचाउन र प्रत्यक्ष छुन मरिहत्ते गर्ने फ्यान उनले जीवनमा धेरै भेट्टाए । यस्तो हुनु उनका लागि नौलो त भएन । उनले उक्त स्टुडियोमा एक यस्ता अचम्मका फ्यान भेटे जो अरूभन्दा फरक थिए ।
सुन्दा अचम्म लाग्छ, मन परेको सेलिब्रेटीका लागि यति धेरै गरिन्छ र ? भारतको आछामका प्रताप गुरुङले आफ्नो मनको फ्यानलाई भेट्नकै लागि काठमाडौंमा वर्ष दिनदेखि ठूलो संघर्ष गरेका छन् । सानैदेखि गायक राजेशपायल राईको फ्यान भएको बताउने पच्चीस वर्र्षीय युवा प्रतापलाई राजेशजस्तै गायक बन्ने भूतले काठमाडौं तान्यो । उनी आछामबाट एक वर्षअघि काठमाडौं आएका थिए । उनको लक्ष्य थियो गायक राजेशपायललाई भेट्ने र ठूलो गायक बन्ने ।
राजेशले रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्ने समयमा राजेश निकट एक व्यक्तिले प्रतापलाई स्टुडियोमै ल्याए । प्रतापले जब वर्षौदेखि मनको सेलिब्रेटी आँखाअगाडि भेट्टाएका मात्र के थिए उनले शिर निहुराएर खुट्टामै ढोगे । राजेशले पनि शिर आफ्नो खुट्टामा पूरा पुग्न नपाउँदै दुवै हातले रोके । ‘तपाई नै हो, मैले तपाईको अन्तर्वाता हेरेको थिएँ’ राजेशले प्रतापलाई हेर्दै भने । प्रतापले काठमाडौं आइसकेपछि म राजेश दाईको ठूलो फ्यान हुँ उनलाई भेट्न चाहान्छु भन्दै उनकै गीत गाएर केही युट्युव च्यानलमा अन्तर्वार्ता दिएका थिए, जुन भिडियो राजेशले हेर्न भ्याएका रहेछन् ।
राजेशले प्रतापलाई स्टुडियोको बैठक कोठामा लगेर राखे र छेउमै बसे । राजेशलाई देख्नेबित्तिकै लामो र छिटोछिटो सास फेरेका प्रताप केही बोल्न सकेका थिएनन् । ‘ल भन्नुस् तपाईले मलाई केके सोध्न मन लागेको छ ?’ छेउमै बसेर राजेशले प्रतापलाई भने । प्रतापले मनमा धेरै कुरा भए जसरी केही भन्न खोज्दै थिए तर उनको मनभित्र भएको डरले बोली फुरेन । राजेशले त्यो कुरा बुझेर छेउमै भएको बोतलको पानी हातमा थमाइदिए, प्रतापले सासै नफेरी बोतल रित्ताए ।
आछामबाट एक्लै आएका प्रतापको एकमात्र उद्देश्य राम्रो गायक बन्ने रहेछ । उनले सुगम संगीतमा राजेशका गीत निकै सुन्ने गरेको बताए । ‘मैले हजुरका गीत निकै सुन्ने गर्छु, हजुरजस्तै गायक बन्न चाहान्छु,’ प्रतापले भने । यतिभन्दै गर्दा राजेशले उनको स्वर सुन्ने इच्छा राखे र प्रतापले स्वर तानेर गाउन थाले । ‘किन यति धेरै माया लाग्छ नि हौँ’ बोलको गीतका केही हर्फ सुनाउँदा राजेश चकित परे । प्रतापले नसिकी गाएको गीतमा धेरै कुरा मिलेको बताए । अझ प्रतापले राजेशकै दुरुस्तै स्वर बनाएर गाएको देख्दा राजेश अझ अचम्मित परे । त्यतिकैमा राजेशले हौसलाका लागि ‘मैले मायाले दिएको चिनो’ बोलको गीत गाएर सुनाइदिए ।
प्रतापले राजेशका अगाडि आफ्ना दुःखका कुरा पनि सुनाए । नेपाल आएको वर्षदिन हुँदा काठमाडौंमा टिक्न धेरै गाह्रो भएको भन्दै उनले काठमाडौंको बसपार्क क्षेत्रका होटलमा काम गरेको उनले सुनाए । उनले होटलमा खाना पकाउनेदेखि भाँडा माझ्ने कामसम्म गरेको अनुभव सुनाए । ‘काठमाडौंमा कसैले कसैलाई सहयोग नगर्दा रहेनछन् । तपाईसँग भेट्ने समयसम्म आउँदा धेरै संघर्ष गर्नुप¥यो । होटलमा काम गर्दा तपाईकै गीत दिनकै गुनगुनाउने गर्थेँ,’ प्रतापले सुनाए । साथै उनले एकदिन पक्कै राजेश दाईसँग भेट होला भन्ने आशा लिएरै काठमाडौंमा महिनौं बितेको बताए ।
गायक राजेशले प्रतापका दुःख सुन्दै गर्दा आफ्ना विगतका दिन सम्झे । ‘सुरुवातका दिनमा संघर्ष गर्नुपर्छ, म सुरुमा काठमाडौं आउँदा कसैले दश रूपैयाँ सहयोग गर्दैनथ्यो, मोटरसाइकलमा अलि परसम्म पु¥याइदिनुस् भन्दा कसैले वास्ता गर्दैनथ्यो, ती सबै दुःख अहिले सम्झेर काम गर्नुपर्छ’ राजेशले हौसलाका लागि आफ्ना विगतका दुःख सुनाए । साथै राजेशले प्रतापलाई नगद १० हजार रूपैयाँ सहयोग गरे र एक गीत रेकर्ड गरिदिने बाचा दिए । साथै प्रतापले संगीत सिक्ने इच्छा राखे र राजेशलाई कुनै रेकर्डिङ स्टुडियोमै काम लगाइदिन आग्रह गरे । ‘बरु भाडा नै माझ्न किन नपरोस् तयार छु, रेकर्डिङ स्टुडियोभित्रै काम गर्न पाए हुन्थ्यो’ प्रतापले राजेशका अगाडि सुनाए । राजेशले पनि कामदार चाहिएका कुनैपनि रेकर्डिङ स्टुडियोमा खबर गरिदिने बताए ।
राजेशले नवप्रतिभालाई आफूले सधैँ माया गर्ने गरेको बताए । ‘मैले धेरै नवगायकहरूलाई सहयोग गरेको छु, धेरै प्रतिभा राजेशपायल नै बन्छु भन्दै आउने गरेको पाउँछु, त्यसैले पनि खुशी लाग्छ’ राजेशले भने । उनले केहिसमय अघि बालप्रतिभा मनीष लिम्बूलाई पनि नगद २० हजार रूपैयाँ सहयोग गरेका थिए ।



















