वैदेशिक रोजगारीमा मलेसियाप्रति नेपाली श्रमिकको आकर्षण दिनप्रतिदिन बढ्दो।

काठमाडौं := वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरूको रोजाइमा मलेसिया बलियो गन्तव्यका रूपमा उभिएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, गत एक वर्षमा मात्रै १ लाख २८ हजार ७ सय ५३ जना नेपालीले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन्।

विगतमा कतार र साउदी अरेबिया नेपाली श्रमिकका प्रमुख रोजाइका मुलुक मानिए पनि पछिल्लो तथ्याङ्कले मलेसियाले यी दुवै देशलाई उछिनेको देखाएको छ। सोही अवधिमा साउदी अरेबियाका लागि १ लाख २३ हजारकतारका लागि १ लाख २१ हजार नेपालीले श्रम स्वीकृति लिएका छन्।

यद्यपि, १ लाख ८३ हजारभन्दा बढी नेपाली श्रमिक भित्र्याउँदै संयुक्त अरब इमिरेट्स (यूएई) अझै पनि नेपाली श्रमिकहरूको पहिलो रोजाइको गन्तव्य बनेको छ।

श्रम तथा वैदेशिक रोजगार क्षेत्रका जानकारहरूका अनुसार मलेसियामा पछिल्लो समय रोजगारीका अवसर विस्तार हुनु, सेवा–सुविधामा सुधार आउनु तथा श्रमिकमैत्री वातावरण बन्दै जानुले नेपाली कामदारहरूको आकर्षण निरन्तर बढिरहेको छ। यदि यही प्रवृत्ति कायम रहेमा आगामी दिनमा मलेसिया नेपाली श्रमिकका लागि अझ महत्त्वपूर्ण श्रम गन्तव्य बन्ने अपेक्षा गरिएको छ।