खोटाङमा बलात्कारका घट्ना बढे

खोटाङ । जिल्लामा जबरजस्ती बलात्कारका घटना बढेको तथ्यांक सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले सोमबार दिक्तेलमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बलात्कारका घट्ना बढिरहेको तथ्यांक सार्वजनिक भएको हो । चार महिनाको अवधिमै महिला तथा बालिका बलात्कार र प्रयासका १७ वटा घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले जानकारी दिए । गत साउन १ गतेदेखि हालसम्मको अवधिमा बालयौन दुरुपयोगका १ वटा मुद्दा दर्ता भएको छ । बलात्कार र बलात्कार प्रयासका जम्मा घटनामध्ये १५ घटना आफन्त तथा चिनजानबाटै भएको डिएसपी केसीले बताए ।

यस्तै, आर्थिक वर्ष २०७५÷०७६ लागेयता झुन्डिएर आत्महत्या गरेका १६ वटा र विष सेवनबाट ११ वटा घटना भएको प्रहरीले तथ्यांक सार्वजनिक गरेको छ । यस अवधिमा ज्यान मार्ने उद्योगका ७ वटा, चोरीका २ वटा, ठगीका १ वटा, वहुविवाहका २ वटा, हातहतियार खरखजानाका एउटा घटना भएको डिएसपी केसीले जानकारी दिए । यस्तै, विभिन्न मुद्दामा दोषी ठहर भएपनि फरार रहेका २४५ जनामध्ये ३४ जना अभियुक्त पक्राउ भएका छन् । उनीहरूबाट १४ लाख ५५ हजार ९१४ रुपैयाँ जरिवाना रकम असुल भएको र १३५ वर्ष ४ महिना कैद भुक्तान भएको डिएसपी केसीले जानकारी दिए ।

कार्यक्रममा सहभागीले दुई वर्षअघि हत्या गरिएकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमाया विश्वकर्मा र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्न दोषी पत्ता लगाउन प्रहरी र प्रशासनको ध्यानाकर्षण गराएका छन् । प्रहरी सेवालाई थप प्रभावकारी बनाउनका लागि सार्वजनिक सुनुवाइ गरिएको डिएसपी केसीले बताए ।