क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली आप्रवासी श्रमिकको मृत्युको तथ्यांक गम्भीर देखिएको छ। मलेसियाको मानव अधिकार आयोग (SUHAKAM) ले क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांक उद्धृत गर्दै सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०१८ देखि मे २०२४ सम्मको साढे ६ वर्षको अवधिमा २ हजार २१४ जना नेपाली श्रमिकको मृत्यु भएको छ।
उक्त तथ्यांकअनुसार मलेसियामा सो अवधिमा औसतमा दैनिक करिब एक जना नेपाली श्रमिकले ज्यान गुमाएका छन्। ६ वर्षभन्दा बढी अवधिको मृत्यु तथ्यांकलाई दैनिक औसतमा रूपान्तरण गर्दा यो संख्या करिब ०.९४ जना प्रतिदिन झण्डै १ जनाको मृत्यु हुन आउँछ।
SUHAKAM को प्रतिवेदनले नेपाली श्रमिकको मृत्युका कारणमा आत्महत्या, मुटुसम्बन्धी समस्या तथा अन्य दीर्घरोग (Chronic Diseases) लगायतका कारणलाई औंल्याएको छ। यसले मलेसियामा कार्यरत नेपाली श्रमिकको स्वास्थ्य, मानसिक अवस्था, कार्यस्थलको वातावरण र समग्र श्रम अधिकारको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
श्रमिक अधिकारसँग सम्बन्धित सरोकारवालाहरूका अनुसार लामो समयसम्म काम गर्नुपर्ने बाध्यता, अत्यधिक ओभरटाइम, कार्यस्थलको तनाव, पारिवारिक तथा व्यक्तिगत समस्या, राहदानी रोजगारदाताले रोक्का गर्ने अवस्था र पर्याप्त आराम तथा स्वास्थ्य सेवाको अभावजस्ता विषयले श्रमिकको मानसिक तथा शारीरिक स्वास्थ्यमा असर पार्न सक्छन्।
विशेषगरी मृत्युको ठूलो संख्या केवल कार्यस्थल दुर्घटनासँग मात्र सम्बन्धित नभई आत्महत्या तथा दीर्घरोगसँग समेत जोडिएको तथ्यले नेपाली श्रमिकको स्वास्थ्य र मानसिक सुरक्षालाई वैदेशिक रोजगारीको नीतिगत बहसको केन्द्रमा राख्नुपर्ने आवश्यकता देखाएको छ।
यही पृष्ठभूमिमा नेपाल राष्ट्रिय मानव अधिकार आयोग (NHRCN) र मलेसियाको मानव अधिकार आयोग (SUHAKAM) ले मलेसियामा कार्यरत नेपालीसहित आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि हुँदै आएको सहकार्यलाई निरन्तरता दिँदै समझदारीपत्र (MoU) नवीकरण गरेका छन्।
MoU नवीकरणका क्रममा आप्रवासी श्रमिकको अधिकार संरक्षण, उजुरी तथा गुनासो सम्बोधन, श्रम अधिकारको प्रवर्द्धन र उनीहरूको जीवन तथा सुरक्षासँग जोडिएका विषयमा विशेष चासो व्यक्त गरिएको छ।
मलेसिया नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक हो। ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेको मुलुकमा साढे ६ वर्षमा २ हजारभन्दा बढी नेपालीको मृत्यु भएको तथ्यांकले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षित स्वास्थ्य , मर्यादित र मानवअधिकारमैत्री श्रम वातावरण सुनिश्चित गर्ने विषय अझै गम्भीर चुनौतीका रूपमा रहेको देखाउँछ।


















