क्वालालम्पुर (मलेसिया):= मलेसियामा लागुऔषध कारोबारसम्बन्धी मुद्दामा पक्राउ परी लामो समय जेल तथा हिरासतमा बिताएका नुवाकोट बर्सुन्चेत–१ का हरि बहादुर घले २४ वर्षपछि स्वदेश फर्किएका छन्।
सन् २००३ मे ३० मा मलेसियाको क्वालालम्पुरस्थित एक होटलबाट पक्राउ परेका घलेमाथि लागुऔषध कारोबारसम्बन्धी अभियोग लगाइएको थियो। मलेसियाली प्रहरीले उनको साथबाट ८७५ ग्राम हेरोइन बरामद भएको दाबी गरेको थियो। तर घलेले उक्त लागुऔषध आफ्नो नभएको र अर्का नेपाली नागरिक गणेश तामाङको भएको दाबी गर्दै आएका थिए।
मलेसियाको उच्च अदालतले सन् २००९ मा घलेलाई मृत्युदण्डको सजाय सुनाएको थियो। उक्त फैसलाविरुद्ध गरिएको पुनरावेदनमा सर्वोच्च अदालतले सन् २०१२ मा उच्च अदालतको फैसला सदर गरेको थियो। त्यसपछि घलेले लामो समय मृत्युदण्डको जोखिमबीच जेल जीवन बिताउनुपरेको थियो।
घलेको जीवनरक्षाका लागि नेपालमा उनका परिवार, आफन्त तथा विभिन्न सरोकारवाला निकायले लामो समयदेखि पहल गर्दै आएका थिए। नेपाल सरकारले पनि मलेसिया सरकारसँग कूटनीतिक माध्यमबाट उनको जीवनरक्षाका लागि पहल गरेको थियो। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले समेत घलेको जीवनरक्षाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
घलेको परिवारले उनको रिहाइ तथा जीवनरक्षाका लागि सार्वजनिक रूपमा अपिलसमेत गरेको थियो। एम्नेस्टी इन्टरनेसनल नेपालले पनि घलेको परिवारसँग सहकार्य गर्दै मृत्युदण्डविरुद्ध अभियान सञ्चालन गरेको बिगतका अभिलेखमा उल्लेख छ।
लामो कानुनी प्रक्रियापछि घलेको मृत्युदण्डको सजाय परिवर्तन गरी जेल सजायमा परिणत गरिएको थियो। जेल सजाय पूरा गरेपछि पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा नहुँदा उनी केही समय हिरासत केन्द्रमा रहनुपरेको थियो।
२४ वर्षपछि नेपाल फर्कने क्रममा घलेलाई हवाई टिकटको समस्या परेको थियो। उनको अवस्थाबारे जानकारी पाएपछि मलेसियामा व्यवसाय गर्दै आएका तथा आरटीएफसी फुटबल क्लब मलेसियाका अध्यक्ष राजु तामाङले स्वदेश फर्काउन सहयोगको पहल गरेका थिए। तामाङको पहलमा सेप्टेम्बर २४ का लागि बतिक एयरको हवाई टिकट उपलब्ध भएपछि घले नेपाल फर्कन सफल भएका हुन्।
लामो समय मलेसियाको जेल तथा हिरासतमा बिताएपछि परिवारसँग पुनर्मिलनका लागि स्वदेश फर्किएका घलेको घटना लामो कानुनी प्रक्रिया, कूटनीतिक पहल र मानवीय सहयोगको एउटा उदाहरण बनेको छ। घलेलाई स्वदेश फर्किन आवश्यक पर्ने एकतर्फी यात्रा अनुमतिपत्र “वन-ए ट्राभल डकुमेन्ट” मात्रै नेपाली राजदूतावास मलेसियाले निशू:ल्क उपलब्ध गराएका हुन ।
घलेलाई स्वदेश फर्काउन सहयोग गरेकोमा उनका परिवार तथा आफन्तले व्यवसायी एवं आरटीएफसी फुटबल क्लबका अध्यक्ष राजु तामाङप्रति धन्यवादसहित आभार व्यक्त गरेका छन्।


















