क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाले बिचौलिया तथा गिरोहको प्रलोभनमा परी अवैध बाटो हुँदै मलेसिया प्रवेश गर्ने प्रयास नगर्न नेपाली नागरिक तथा श्रमिकहरूलाई आग्रह गरेको छ।
आफ्नो नियमित फेसबुक साप्ताहिक लाईभ कार्यक्रममार्फत बोल्दै, “पछिल्लो समय कम्बोडिया , थाइल्यान्ड तथा सिङ्गापुर हुँदै मलेसिया प्रवेश गराउने र रोजगारी दिने भन्दै बिचौलियाहरूले नेपाली नागरिकलाई विभिन्न प्रलोभन देखाउने र ठगी गर्ने गतिविधि बढेको भन्दै दूतावासले यस्तो सचेत गराएको हो।” यसरी अवैध बाटोबाट मलेसिया प्रवेश गर्ने क्रममा विभिन्न समस्यामा परेका नेपालीहरूको संख्या दिनानुदिन बढ्दै गैइरहेको दूतावासले जनाएको छ।
दूतावासले मलेसिया आउनुअघि आफ्नो वैध कामदार भिसा (वर्किङ भिसा) भए–नभएको अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ। साथै, जुन कम्पनीमा काम गर्न जाने हो, सोही कम्पनीको नाममा जारी भएको भिसा तथा आवश्यक कागजात लिएर मात्र मलेसिया आउन अनुरोध गरेको छ।
पछिल्लो समय मलेसियाले ई–भिसा (e-Visa) जारी गर्ने व्यवस्था पनि प्रयोगमा ल्याएको भन्दै दूतावासले भिसाको प्रकृति र त्यसले प्रदान गर्ने अधिकारबारे स्पष्ट जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। ई–भिसा प्राप्त भएको भन्दै त्यसलाई स्वतः रोजगारीका लागि मलेसिया प्रवेश गर्ने अनुमति वा काम गर्ने अधिकारका रूपमा नबुझ्नसमेत श्रमिकहरूलाई सचेत रहन आग्रह गरिएको छ।
मलेसियामा रोजगारीका लागि आउने नेपाली कामदारका हकमा सम्बन्धित रोजगारदाता कम्पनीबाट प्रक्रिया पूरा गरी जारी हुने कलिङ भिसा महत्वपूर्ण आधार हो। त्यसैले बिचौलियाले देखाएको कागजात वा मौखिक आश्वासनका भरमा यात्रा नगर्न र आफ्नो सक्कली भिसा तथा रोजगारसम्बन्धी विवरण आधिकारिक रूपमा पुष्टि गरेर मात्र मलेसिया आउन दूतावासले अनुरोध गरेको छ।
मलेसिया प्रवेश गर्नुअघि भिसा, रोजगारदाता कम्पनी, कलिङ भिसा तथा यात्रासम्बन्धी कागजातको आधिकारिकता सुनिश्चित गर्न सके सम्भावित ठगी, आर्थिक क्षति तथा कानुनी समस्याबाट बच्न सकिने दूतावासको भनाइ छ।


















