मलेसियाको प्रधानमन्त्री अनवर र बालेन्द्र शाहबीच टेलिफोन वार्ता, “सिन्डिकेट” हटाउन सहमत।

क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिम र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच मंगलबार टेलिफोन वार्ता भएको छ। चीनको तीनदिने कार्य भ्रमणमा प्रस्थान गर्नुअघि भएको कुराकानीमा नेपालमा हालै आएको विनाशकारी बाढीपहिरो, सम्पर्कविहीन मलेसियाली नागरिकको खोजी तथा नेपालबाट मलेसियामा श्रमिक भर्नासम्बन्धी विषयमा छलफल भएको प्रधानमन्त्री अनवरको सचिवालयले जनाएको छ।

अनवरले नेपालमा भएको ठूलो जनधनको क्षतिप्रति मलेसिया सरकार र जनताको तर्फबाट दुःख व्यक्त गर्दै उद्धार तथा खोजी कार्यमा संलग्न नेपाली सरकार, सम्बन्धित निकाय र उद्धार टोलीप्रति आभार व्यक्त गरेका छन्।

विशेषगरी विपद्पछि ५५ जना मलेसियाली नागरिक अझै सम्पर्कविहीन रहेको विषय अनवरले प्रधानमन्त्री बालेनसमक्ष उठाएका छन्। उनीहरूका परिवार लामो समयदेखि आफ्ना आफन्तको अवस्थाबारे आधिकारिक जानकारीको प्रतीक्षामा रहेको भन्दै अनवरले खोजी कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन्।

प्रधानमन्त्री बालेनले नेपालमा अवस्था अझै अत्यन्त जटिल रहेको र विपद्को प्रभाव तथा विनाशको स्तर निकै ठूलो रहेको जानकारी गराउँदै कठिन परिस्थितिका बाबजुद खोजी तथा उद्धार कार्य जारी राखिने आश्वासन दिएका छन्।

सम्पर्कविहीनको अवस्था यकिन नभए औपचारिक संयन्त्रको प्रस्ताव

अनवरले खोजी तथा उद्धारका प्रयासबाट पनि सम्पर्कविहीन नागरिकको अवस्था यकिन हुन नसकेमा प्रभावित परिवारलाई कानुनी, आर्थिक तथा प्रशासनिक प्रक्रिया अघि बढाउन सहयोग पुग्ने गरी औपचारिक संयन्त्र स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन्।

उनले यस विषयमा विस्तृत प्रस्तावसहित प्रधानमन्त्री बालेनलाई औपचारिक पत्र पठाउने बताएका छन्। मलेसियाले यस विपद्पछि खोज तथा उद्धारका लागि SMART टोलीसमेत नेपाल पठाएको थियो। नेपालमा रहेका ५५ मलेसियालीको अवस्थाबारे खोजी जारी रहँदा ७७ जना मलेसियालीलाई भने सुरक्षित रूपमा उद्धार गरी काठमाडौं ल्याइएको विवरण यसअघि सार्वजनिक भएको थियो।

नेपाली श्रमिक भर्नामा एजेन्ट र सिन्डिकेटको भूमिकाबारे पनि छलफल 

दुई प्रधानमन्त्रीबीचको वार्तामा नेपालबाट मलेसियामा नेपाली श्रमिक भर्ना गर्ने प्रक्रियामा एजेन्ट र सिन्डिकेटको भूमिकासम्बन्धी विषय समेत उठेको छ।

अनवरका अनुसार श्रमिक भर्ना प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र श्रमिकको अधिकार तथा कल्याण सुनिश्चित गर्ने किसिमको हुनुपर्नेमा दुवै पक्षबीच सहमति भएको छ।

यस विषयलाई थप अगाडि बढाउन मलेसियाका मानव संसाधनमन्त्री र नेपालका सम्बन्धित श्रम मन्त्रीबीच चाँडै छलफल गर्ने सहमति भएको अनवरले बताएका छन्। दुई देशबीच नेपाली श्रमिक भर्नासम्बन्धी देखिएका समस्या र प्रक्रियागत विषयमा छलफल गरी समाधान खोज्ने तयारी भएको हो।

मलेसियाले यसअघि नेपालमा आएको विपद्पछि खोज तथा उद्धारका लागि SMART टोली परिचालन गर्नुका साथै नेपाललाई १ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो ।