मलेसियाबाट बाढी पीडितलाई आरएम ८,०५१ (नेपाली रुपैयाँ ३ लाखभन्दा बढी) सहयोग।

पेनाङ(मलेसिया):= रसुवामा आएको बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि मलेसियाको पेनाङस्थित बायन लेपासमा रहेको डुफु टेक्नोलोजी एसडीएन. बीएचडी. मा कार्यरत श्रमिकहरूले RM ८,०५१ (नेपाली रुपैयाँ ३ लाखभन्दा बढी) सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकमार्फत जम्मा गरेर पठाएका छन्।

डुफु टेक्नोलोजीको QA विभागमा कार्यरत खगेन्द्र बिश्वकर्माको अगुवाइमा सञ्चालित अभियानमा नेपालीसहित म्यानमार, बंगलादेशी र मलेसियाली श्रमिकहरू सहभागी भएका थिए। कम्पनीका विभिन्न विभागमा कार्यरत श्रमिकहरूले आफ्नो क्षमताअनुसार सहयोग गर्दै विपद्मा परेका नेपाली परिवारप्रति ऐक्यबद्धता जनाएका हुन्।

विदेशमा रहेर पनि मातृभूमिमा परेको विपद्मा सहयोग गर्ने उद्देश्यले गरिएको यो अभियानले राष्ट्रियता, भाषा र संस्कृतिभन्दा माथि उठेर मानवीय सहयोग र श्रमिक एकताको सन्देश दिएको छ।

राष्ट्रियता फरक, मानवता एउटै

रसुवा बाढीपहिरो पीडितका लागि सञ्चालन गरिएको अभियानमा नेपाली श्रमिकसँगै म्यानमार, बंगलादेश र मलेसियाका श्रमिक सहभागी हुनु विशेष अर्थपूर्ण देखिएको छ। एउटै कार्यस्थलमा काम गर्ने श्रमिकहरूले राष्ट्रियता, भाषा र संस्कृतिको सीमाभन्दा माथि उठेर विपद्मा परेका परिवारका लागि सहयोग जुटाएका हुन्। यसले मानवीय सहयोगको कुनै सीमा हुँदैन भन्ने सन्देश दिएको छ।

डुफु टेक्नोलोजीका विभिन्न विभागका श्रमिकहरूको सामूहिक सहभागिताले विदेशमा रहेका श्रमिकहरूले पनि विपद्का बेला आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान दिन सक्ने उदाहरण प्रस्तुत गरेको छ। अभियानका अगुवाइकर्ता खगेन्द्र बिश्वकर्मासहित आयोजक पक्षले सहयोग अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने डुफु टेक्नोलोजीका सम्पूर्ण विभागका श्रमिक, सहयोगदाता तथा अभियानमा जोडिएका सबैप्रति आभार व्यक्त गरेका छन्।