मलेसिया क्वालालम्पुरमा वेश्यालय तथा अवैध मसाज केन्द्रमा छापा, यौनकर्मी महिलाहरू पक्राउ।

क्वालालम्पुर (मलेसिया):= क्वालालम्पुर सिटी हल (DBKL) ले वेश्यालय तथा अवैध मसाज केन्द्रविरुद्ध विशेष अपरेशन सञ्चालन गर्दै तीनवटा अवैध प्रतिष्ठान बन्द गरेको छ। उक्त अपरेशन जुलाई २९ राति १०:०० बजेदेखि जुलाई ३० बिहान २:०० बजेसम्म जलान येउ र जलान तुन रजाकस्थित पुडु बजार क्षेत्रमा सञ्चालन गरिएको थियो।

DBKL ले पूर्व अनुसन्धान र गोप्य सूचनाका आधारमा ती प्रतिष्ठानहरूमा अनैतिक गतिविधि (मसाज तथा यौन व्यवसाय) सञ्चालन भइरहेको पुष्टि गरेपछि छापा मारेको जनाएको छ।

छापामार कारबाहीका क्रममा तीनवटै प्रतिष्ठान व्यवसाय सञ्चालनका लागि आवश्यक वैध इजाजतपत्र (लाइसेन्स) बिना सञ्चालन भएको पाइएपछि स्थानीय सरकार ऐन १९७६ को दफा १०१(१)(v) अन्तर्गत तत्काल बन्द गरिएको हो।

त्यसैगरी, प्रतिष्ठानभित्र अनुमति बिना कोठा, शौचालय, ओछ्यान लगायतका आन्तरिक संरचना निर्माण गरिएको भेटिएपछि सडक, नाली तथा भवन ऐन १९७४ को दफा ७९ अन्तर्गत तीनवटै प्रतिष्ठानलाई जरिवाना (कम्पाउन्ड) गरिएको तथा ती सबै अवैध संरचना तत्काल भत्काइएको DBKL ले जनाएको छ।

अपरेशनका क्रममा कन्डम, लुब्रिकेन्ट (चिप्लो बनाउने तेल) लगायत विभिन्न सामग्री पनि जफत गरिएको छ। जफत गरिएका सामग्रीलाई आवश्यक कागजी प्रक्रिया पूरा गर्न DBKL को जफत गोदाममा राखिएको छ।

DBKL ले यस्ता अवैध तथा अनैतिक गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। साथै, यस्ता गतिविधिबारे जानकारी भएमा सम्बन्धित निकायमा उजुरी वा सूचना दिन सर्वसाधारणलाई आग्रह गरिएको छ।