मलेसियामा रेस्टुरेन्टमा विदेशी कामदार अभाव, तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन।

क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले देशका रेस्टुरेन्ट क्षेत्रमा लामो समयदेखि देखिँदै आएको विदेशी कामदारको चरम अभावलाई तत्काल सम्बोधन गर्न कडा निर्देशन दिएका छन्।

विशेष गरी २४ सै घण्टा खुला रहने ‘मामाक’ रेस्टुरेन्टहरू कामदार नहुँदा बन्द हुने अवस्थामा पुगेपछि प्रधानमन्त्रीले चासो देखाएका हुन्। उनले सम्बन्धित मन्त्रालय र सरकारी निकायहरूलाई रेस्टुरेन्ट व्यवसायीका अड्किएका आवेदन र समस्याहरूलाई प्राथमिकताका साथ एक महिना भित्र सल्टाउन स्पष्ट अल्टिमेटम दिएका छन्।

प्रधानमन्त्री अनवरले रेस्टुरेन्ट व्यवसायलाई सहज बनाउन कामदार अभावको समस्या समाधान गरिने आश्वासन दिए पनि देशमा जथाभावी रूपमा विदेशी कामदार भित्र्याउन भने नदिइने स्पष्ट पारेका छन्।

देशमा पहिले नै ठूलो संख्यामा कागजातविहीन र अदक्ष कामदारहरू रहेकाले नयाँ भर्ना प्रक्रिया पूर्ण रूपमा सन्तुलित र नियन्त्रित हुनुपर्ने उनको भनाइ छ। मलेसिया सरकारले श्रम बजारको आवश्यकता र राष्ट्रिय सुरक्षा दुवैलाई ध्यानमा राखेर यो कदम चालेको हो।