पिएनसीसी मलेसियाको आयोजना, एनएसआईको सहकार्यमा जोहोर र रावाङमा श्रमिक सचेतनामूलक कार्यक्रम सम्पन्न।

क्वालालम्पुर:= प्रवासी नेपाली समन्वय समिति (PNCC) मलेसियाले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) नेपालको सहयोगमा सञ्चालित MiRiDeW परियोजना अन्तर्गत North South Initiative (NSI) सँगको सहकार्यमा जुलाई २६, २०२६ (आइतबार) जोहोर र सेलाङ्गोरको रावाङमा दुईवटा श्रमिक सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

जोहोरको पेकन नानस क्षेत्रमा आयोजित पहिलो कार्यक्रममा सामाजिक सुरक्षा कोष (Social Security Fund – SSF) सम्बन्धी जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न कम्पनीमा कार्यरत ७० भन्दा बढी नेपाली श्रमिकको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन PNCC जोहोरका आउटरिच अफिसर सुरेन्द्र महतोले गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण राजु तामाङतामाङ घेदुङ जोहोर शाखाका सहसचिव रामबहादुर तामाङ (जीवन) ले गर्नुभएको थियो।

त्यसैगरी, सेलाङ्गोरको रावाङ क्षेत्रमा आयोजित दोस्रो कार्यक्रममा वैदेशिक रोजगारका लागि पुनः श्रम स्वीकृति (Labour Re-Approval) प्रक्रियासम्बन्धी सचेतनामूलक जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न कम्पनीमा कार्यरत ३४ जना नेपाली दाजुभाइ तथा दिदीबहिनीको सहभागिता रहेको थियो।

रावाङमा सम्पन्न कार्यक्रम PNCC मलेसिया संयोजक पूर्ण लिम्बुको सुपरिवेक्षणमा सञ्चालन गरिएको थियो। कार्यक्रम व्यवस्थापनमा बाग्लुङ सेवा समाजका अध्यक्ष तथा प्रवासी नेपाली मञ्चका सचिव कृष्ण खड्काले सहयोग गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन जीवन देवानले गर्नुभएको थियो।

आयोजकका अनुसार यी दुवै कार्यक्रमले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोष (SSF) तथा पुनः श्रम स्वीकृति प्रक्रियाको महत्व, लाभ र आवश्यक प्रक्रियाबारे जानकारी गराउँदै उनीहरूमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

PNCC मलेसियाले आगामी दिनमा पनि नेपाली श्रमिकहरूको हकहित, सुरक्षित वैदेशिक रोजगारी तथा कानुनी सचेतनासम्बन्धी यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।