अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई ‘नाटकीय’ सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएपछि विश्व राजनीति गम्भीर मोडमा।

एजेन्सी := भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई अमेरिकाले एक ‘नाटकीय’ सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएपछि विश्व राजनीति गम्भीर मोडमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सार्वजनिक रूपमा मादुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई भेनेजुएला भित्रैबाट नियन्त्रणमा लिइएको घोषणा गरेपछि ल्याटिन अमेरिका मात्र होइन, विश्व शक्ति सन्तुलन र ऊर्जा बजारमा समेत ठूलो हलचल उत्पन्न भएको छ ।

कराकासस्थित भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेस देशको सर्वोच्च नेता रहने आदेश जारी गरेको छ । उहाँले अब अन्तरिम राष्ट्रपतिका रूपमा काम गर्ने ठानिएको छ । ट्रम्पले भेनेजुएलामाथि आफ्नो देशले आक्रमण गरेर राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिइएको बताउनुभएको थियो । मदुरो र उहाँकी पत्नीलाई न्युयोर्क ल्याइँदै गरिएको तस्वीर उहाँले सामाजिक सञ्जाल ट्रुथमार्फत सार्वजनिक गर्नुभएको थियो ।

ट्रम्पले ‘युएसएस इवो जिमा’ युद्धपोतभित्र आँखामा पट्टी बाँधिएको अवस्थामा मदुरोको तस्वीर सार्वजनिक गर्नुभएको थियो । न्युयोर्कको स्टुवर्ट एअर न्याश्नल गार्ड बेसमा अवतरणपछि उहाँलाई हेलिकप्टरमार्फत म्यानहटन पु¥याइएको थियो । त्यहाँबाट मदुरो दम्पतीलाई ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टर लगिएको छ । यद्यपि, अधिकारीहरूले यसको आधिकारिक पुष्टि गरेका छैनन् ।

ट्रम्पका अनुसार भेनेजुएलामा ‘ठूलो स्तरको सैन्य अपरेसन’ सञ्चालन गरिएको थियो, जसअन्तर्गत राष्ट्रपति मादुरो दम्पतीलाई सुरक्षित आवासबाट पक्राउ गरिएको हो । ‘अपरेसन एब्सोल्युट रिजोल्भ’ नाम दिइएको उक्त कारबाही शीतयुद्धपछिको दक्षिण अमेरिकामा भएको सबैभन्दा ठूलो अमेरिकी सैन्य हस्तक्षेप भएको अमेरिकी अधिकारीहरूको दाबी छ ।

अमेरिकी अधिकारीहरूका अनुसार यो कारबाही आकस्मिक होइन । सिआइएलगायत जासुसी निकायहरूले महिनौँदेखि मादुरोको गतिविधिमा सूक्ष्म निगरानी गरिरहेका थिए । उनी कहाँ बस्छन्, कसरी आवतजावत गर्छन् भन्ने विवरणदेखि लिएर आन्तरिक सुरक्षा संरचनासम्म अध्ययन गरिएको थियो। काराकासस्थित मादुरो बस्ने सेफ हाउसको हुबहु नमुना बनाएर अमेरिकी एलिट फोर्सले लामो समय अभ्यास गरेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले चार दिनअघि नै अपरेसनको अनुमति दिए पनि मौसमका कारण अन्तिम आदेश शुक्रबार राति मात्रै दिइएको थियो । ट्रम्पले यो अपरेसन ह्वाइट हाउसको ‘सिचुएसन रुम’बाट नभई फ्लोरिडास्थित आफ्नै निवास मार–ए–लागोबाट प्रत्यक्ष रूपमा हेरेको खुलेको छ ।

तेल भण्डारमाथि अमेरिकी नजर

यस घटनाको केन्द्रमा भेनेजुएलाको विशाल तेल भण्डार रहेको विश्लेषकहरूको निष्कर्ष छ । भेनेजुएलासँग करिब तीन खर्ब तीन अर्ब ब्यारेल प्रमाणित कच्चा तेल रहेको अमेरिकी ऊर्जा सूचना प्रशासनको तथ्यांक छ, जुन विश्व कुल तेल सञ्चितिको करिब पाँचौँ हिस्सा हो । ट्रम्पले अमेरिकी कम्पनीहरूलाई भेनेजुएलामा अर्बौँ डलर लगानी गराएर ढलेको तेल पूर्वाधार पुनर्निर्माण गर्ने र देशलाई अमेरिकी नेतृत्वमा ठूलो तेल निर्यातकर्ता बनाउने घोषणा गर्नुभएको छ । ‘भेनेजुएलाले आफ्नो क्षमताको तुलना गर्दा अत्यन्तै कम तेल उत्पादन गरिरहेको छ’, ट्रम्पले भन्नुभयो, ‘हामी विश्वकै ठूला अमेरिकी कम्पनीहरू त्यहाँ लैजान्छौँ ।’

हाल भेनेजुएलाले प्रतिदिन करिब १० लाख ब्यारेल मात्र तेल उत्पादन गरिरहेको छ, जुन विश्व उत्पादनको एक प्रतिशतभन्दा पनि कम हो । मादुरो सत्तामा आउनुअघि यो संख्या २० लाखभन्दा बढी थियो भने ह्युगो चाभेज शासनअघि ३५ लाख ब्यारेलसम्म पुग्थ्यो । राज्यस्वामित्वको तेल कम्पनी पिडिभिएसएका अनुसार ५० वर्षदेखि नफेरिएका पाइपलाइन र जर्जर पूर्वाधार मर्मत गर्न मात्रै करिब ५८ अर्ब डलर आवश्यक छ । अन्तर्राष्ट्रिय प्रतिबन्ध, लगानी अभाव र व्यवस्थापन कमजोरीले भेनेजुएलाको तेल उद्योग गम्भीर संकटमा परेको छ ।

मादुरो नियन्त्रणको खबरपछि केही समयका लागि तेलको मूल्य प्रतिब्यारेल ६० डलर नाघे पनि फेरि ५७ डलरमा झरेको छ । विश्लेषकहरूका अनुसार भेनेजुएलाको तेल तत्काल विश्व बजारमा ठूलो प्रभाव पार्ने अवस्थामा छैन, तर दीर्घकालीन रूपमा भने यो ‘गेमचेन्जर’ हुन सक्छ । वरिष्ठ ऊर्जा विश्लेषक फिल फ्लिन भन्नुहुन्छ, ‘यदि अमेरिकी कम्पनीहरू फर्किएर भेनेजुएलाको तेल उद्योग पुनर्निर्माण गर्न पाए भने यसले विश्व तेल आपूर्तिको समीकरण नै बदल्न सक्छ ।’

भेनेजुएलाका राष्ट्रपतिको नियन्त्रणको दाबीले अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमिकता र अमेरिकी हस्तक्षेपको विषयलाई पुनः केन्द्रमा ल्याएको छ । ल्याटिन अमेरिकी राष्ट्रहरू, रुस र चीनले यस घटनालाई कसरी प्रतिक्रिया दिनेछन् भन्ने चासो तीव्र बनेको छ । भेनेजुएलाको संकट अब केवल घरेलु विषय रहेन, यो विश्व शक्ति र ऊर्जा राजनीतिसँग गाँसिएको निर्णायक मोडमा प्रवेश गरिसकेको छ ।

विश्व दुई धु्रवमा बाँडियो

अमेरिकाको यस कदमलाई अधिकांश देशहरूले अन्तर्राष्ट्रिय कानुन र एक सार्वभौम राष्ट्रको सार्वभौमिकता माथिको खुला उल्लंघन भन्दै कडा निन्दा गरेका छन् । रुस र चीनले अमेरिकी कारबाहीलाई ‘आपराधिक हस्तक्षेप’ र ‘दबदबापूर्ण बल प्रयोग’को संज्ञा दिएका छन् । रुसले यदि मादुरोलाई जबरजस्ती देशबाहिर लगिएको पुष्टि भए यो ‘डकैतीसरह’ हुने चेतावनी दिएको छ भने चीनले संयुक्त राष्ट्रसंघको चार्टर उल्लंघन भएको बताएको छ ।

ल्याटिन अमेरिकी मुलुकहरू पनि विभाजित देखिएका छन् । ब्राजिल, क्युबा, चिली र मेक्सिकोले अमेरिकी सैन्य आक्रमणको कडा विरोध गर्दै वार्ता र कूटनीतिक समाधानको माग गरेका छन् । ब्राजिलका राष्ट्रपति लुलाले यसलाई ‘खतरनाक नजिर’ भनेका छन् । क्युबाले ‘आपराधिक हमला’को संज्ञा दिएको छ । तर, अर्जेन्टिनाले भने ट्रम्पको कदमको समर्थन गरेको छ। संयुक्त राष्ट्रसंघले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै क्षेत्रीय अस्थिरताको जोखिम बढेको चेतावनी दिएको छ ।

महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गर्नुभएको छ। भेनेजुएलाभित्र सैन्य हलचल बढेको छ । रक्षा मन्त्रालयले देशभर सेना तैनाथ गरेको छ । हताहत र क्षतिको विवरण अझै सार्वजनिक भएको छैन । अमेरिकाले मादुरो दम्पतीविरुद्ध न्युयोर्कमा मुद्दा चलाउने तयारी गरिरहेको छ । भेनेजुएलाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको छ, भने छिमेकी देश कोलम्बियाले शरणार्थी संकटको सम्भावनालाई मध्यनजर गर्दै सीमामा सेना परिचालन गरेको छ। (अन्तर्राष्ट्रिय एजेन्सीहरूको सहयोगमा)